अन्तिम समयसम्म सक्रिय रहन कार्यकर्तालाई गुरुङको आह्वान

खबर नागरिक

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ सक्रिय प्रचारप्रसारमा जुटेका छन्। घरदैलो अभियानलाई तीव्र बनाउँदै गुरुङले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। उनले सामाजिक सञ्जालमा फैलिने भ्रम र हल्लाको राजनीति भन्दा जनतासँगको प्रत्यक्ष भेटघाट नै आफ्नो मुख्य बल भएको बताएका छन्।

शनिबार भैरहवामा आयोजित तरुण भेलामा बोल्दै गुरुङले क्षणिक ‘ट्रेन्ड’ र प्रचारबाजीले वास्तविक जनमत प्रतिनिधित्व नगर्ने स्पष्ट पारे। “जनताले काम हेर्छन्, ट्रेन्ड होइन,” उनले भने, “हामीले विगतमा गरेका काम र आगामी योजनाका आधारमा जनताको विश्वास जित्नेछौं।” उनले लोकतन्त्रको संस्थागत मजबुतीका लागि जिम्मेवार र अनुभवी राजनीतिक शक्तिलाई सशक्त बनाउन आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा नेता बालकृष्ण खाँण ले पनि पार्टी पंक्तिलाई एकजुट भई गुरुङको पक्षमा सक्रिय हुन आग्रह गर्दै आगामी निर्वाचनलाई लोकतन्त्र र संविधानको रक्षासँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।

गुरुङले निर्वाचन परिणाम जस्तोसुकै आए पनि जनतासँगको सम्बन्ध निरन्तर कायम राख्ने प्रतिबद्धता जनाउँदै अन्तिम समयसम्म सक्रिय रहन कार्यकर्तालाई आह्वान गरेका छन्।


प्रतिक्रिया