मेरो कार्यकाल पछि मर्चवारको विकास नै भएन, धेरै विकास गर्न बाँकी छ : प्रमोदकुमार यादव

खबर नागरिक

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले अघिल्लो कार्यकालमा पुर्णता नपाएको कामलाई निरन्तरता दिदै भौतिक र सामाजिक विकासमा प्राथमिकतामा रहने बताएका छन । चुनावी अभियान तथा घरदैलो कार्यक्रममा व्यस्त यादव अलपत्र विकास निर्माणका कामलाई पूर्णता दिन आफू पुनः चुनावी मैदानमा होमिएको बताए । 

यादवले मर्चवार नेपालमै भएपनि यहाँको विकासका लागि सबै पार्टीले नजरअन्दाज गर्दा एमाले गर्दा मात्रै मर्चवार देख्न लायक भएको छ । ढिलैभएपनि एमालेको नेतृत्वमा मर्चवार क्षेत्र पनि नेपालकै भू–भाग हो भनेर चिनाउने गरि विकास गर्ने पर्ने बताए । रुपन्देहीको महत्वपूर्ण कृषि भूभाग भएको क्षेत्र भएर पनि वर्षौदेखि ओझेलमा परेकाले यसलाई नेपाली भू–भागका रुपमा मुलुकभर चिनाउन आफूले भूमिका खेल्ने उनले बताए ।

यादवले बालबालिकाको सुनौलो भविष्य निर्माण गर्नुका साथै किसानहरूका लागि मल र बिउको उचित व्यवस्थापन गर्नु आफ्नो प्राथमिक दायित्व भएको बताए । यस्तै आफ्नो अघिल्लो कार्यकालमा भएका विकासका कामहरूको स्मरण गर्दै यादवले २०७९ सालको निर्वाचनपछि यस क्षेत्रका गाउँ, टोल र सहरमा विकास पूर्ण रूपमा ठप्प भएको दाबी गरे । 

जनतासित वाचा गर्ने भन्दा उनीहरुका समस्या समाधान गर्ने कुरा महत्वपूर्ण रहेको हसन्छ, बिगतदेखि दल र नेताले जनतालाई आश्वासन मात्र दिने गरेका कारण सर्वसाधरणमा निराशा बढेको बताउँदैं आफूले जनताका समस्या समाधानमा जोड दिने उनले प्रतिवद्धता व्यक्त गरे ।

मर्चवारको फोर–लेन सडक विस्तार रोकिएको, विद्यालयका भवनहरू अधुरै रहेको, १५ शय्याको अस्पताल, कोल्ड स्टोर र डिग्री कलेज जस्ता महत्त्वपूर्ण योजनाहरू अलपत्र परेको भन्दै उनले गहिरो चिन्ता व्यक्त गरे । सडकको दुरावस्था, धूलो र हिलोका कारण स्थानीयले सास्ती खेप्नुपरेको अवस्थामा पनि स्थानीय, प्रदेश र केन्द्र सरकारले कुनै चासो नदेखाएको उनको आरोप छ ।

यहाको समस्या समाधान गर्ने लक्ष्य सहित २५ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेको उनले बताए । नागरिकको आर्थिक अवस्था सुधार भएपछि मात्र समृद्धिको सपना यथार्थमा परिणत हुने यादवको भनाई छ ।

सडकमा एउटा गिट्टी पनि नथपिएको भन्दै वर्तमान नेतृत्वको आलोचना गरेका उनले आफ्नो जित सुनिश्चित भएमा शिक्षा, स्वास्थ्य, सिँचाइ तथा खानेपानीलगायतका क्षेत्रमा देखिएका समस्या समाधान गरी मर्चवारको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

चुनावी घरदैलोका क्रममा आफूले आम मतदाताबाट उत्साहजनक साथ र समर्थन पाइरहेको उम्मेदवार यादवले बताएका छन ।  गाउँ–गाउँमा पुग्दा जनतामा छुट्टै प्रकारको लहर देखिएको र स्थानीय बासिन्दा आफैँ अग्रसर भएर चुनाव जिताउन लागिपरेको उनको भनाइ छ ।

मतदाताहरू घरबाहिर निस्केर यसपटक जसरी पनि ’सूर्य’ चिन्हमा मतदान गर्ने र आफ्नो क्षेत्रको विकास गराउने प्रतिबद्धता व्यक्त गरिरहेकाले एमालेको जित सुनिश्चित रहेको यादवले दाबी गरे ।

मर्चवारका जनताले विकास र परिवर्तनका लागि आफूलाई नै उपयुक्त विकल्प ठानेको र आफूले जितेमा मात्र यस क्षेत्रको वास्तविक विकास सम्भव हुने उनको विश्वास छ। जनताले विकासको अभावलाई गहिरोसँग महसुस गरिसकेकाले अबको निर्वाचनमा जनताको साथ र सहयोग प्राप्त भई परिवर्तन सुनिश्चित हुने यादवको अठोट छ । मुलुकमा नेता धेरै रहेको उल्लेख गर्दै उनले जनताको पक्षमा आवाज उठाउने व्यक्तिको अभाव रहेको बताए । 


प्रतिक्रिया