गगन थापाले दिए राजीनामा

खबर नागरिक

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । सभापति थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।

यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे ।

रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । कांग्रेसले चुनावी समीक्षा गर्न शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

सभापति थापाले राजीनामा दिएको पत्र पनि सार्वजनिक भएको छैन। शुक्रबारको क‍ेन्द्रीय समितिले स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा छलफल र निर्णय गर्नेछ। 

 निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनमा सहभागी भएको थिएन। विशेष महाधिवेशनलाई लिएर देउवा पक्ष सर्वोच्च अदालत गएको छ र मुद्दा विचाराधिन छ।

प्रतिक्रिया