काठमाडौं । भारतको राजधानी दिल्लीस्थित लाल किल्ला नजिक एक कारमा भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा नाै जनाले ज्यान गुमाएका छन् भने २४ जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ भारतीय समय अनुसार करिब ६:५५ बजे फोर्ट मेट्रो स्टेशनको गेट नम्बर १ नजिक पार्क गरिएको इको कारमा विस्फोट भएको थियो। विस्फोट यति शक्तिशाली थियो कि वरिपरिका अन्य गाडीहरूमा समेत आगलागी भएको बताइएको छ।
विस्फोटको कारण हालसम्म खुलेको छैन। यद्यपि, घटनापछि दिल्लीसहित मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता जारी गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाहसँग सम्पर्क गरेर घटनाबारे जानकारी लिएको बताइएको छ। यसबीच, प्रहरी र सुरक्षाबलले घटनास्थललाई घेराबन्दी गरेका छन्। फोरेन्सिक टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको र वरपरका क्षेत्रका सीसीटीभी फुटेजहरू विश्लेषण भइरहेको जनाइएको छ।
साथै, एनआईए (राष्ट्रिय अनुसन्धान एजेन्सी) र एनएसजी (नेशनल सेक्युरिटी गार्ड) का कमान्डोहरूलाई पनि स्थलमा खटाइएको छ। सुरक्षाबलहरूले विस्फोटको प्रकृति र सम्भावित संलग्नता पत्ता लगाउने प्रयास गरिरहेका छन्।