इस्वी सम्वतकाे नयाँ वर्ष शुरू, १३औँ पोसाक एवं टोपी दिवस

खबर नागरिक

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ शुरू भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।

येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर विकसित गरिएको ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष मनाउने चलन विश्वव्यापी रूपमा फैलिँदै गएको छ । विश्वका विभिन्न देश र शहरहरूमा हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नयाँ वर्षको अवसरमा युरोप, अमेरिका, एशिया, अफ्रिका र अस्ट्रेलियाका प्रमुख शहरहरूमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको टाइम्स स्क्वायरमा बल ड्रप समारोहमा लाखौँ मानिस सहभागी भएका छन् ।

बेलायतको लन्डनमा थेम्स नदी किनारमा आतिशबाजी प्रदर्शन गरियो भने स्कटल्यान्डमा परम्परागत हगमानय पर्व उल्लासपूर्वक मनाइयो । अस्ट्रेलियाको सिड्नीमा सिड्नी हार्बर ब्रिज र ओपेरा हाउस वरिपरि विश्वप्रसिद्ध आतिशबाजी प्रदर्शन गरिएको छ । ब्राजिलको कोपाकाबाना समुद्रतटमा झन्डै २० लाख मानिसको सहभागितामा नयाँ वर्षको स्वागत गरिएको छ ।

जापान, दक्षिण कोरिया, चीन र दक्षिणपूर्व एशियाका शहरहरूमा परम्परा र आधुनिक उत्सवको संयोजनसहित नयाँ वर्ष मनाइएको छ । हङकङमा हालैको आगलागी दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्मानमा मुख्य आतिशबाजी कार्यक्रम रद्द गरिएको छ ।  

नेपालमा पनि पछिल्ला वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने चलन बढ्दो छ । पर्यटकीय क्षेत्रमा सांगीतिक कार्यक्रम, सांस्कृतिक प्रस्तुतिमार्फत सन् २०२६ को स्वागत गरिएको छ । विदेशी पर्यटकको बाक्लो उपस्थितिले यी क्षेत्रहरू झनै चहलपहलपूर्ण बनेका छन् । विश्वले सन् २०२५ लाई विदाइ गर्दा वितेको वर्ष राजनीतिक, पर्यावरणीय र सामाजिक घटनाले स्मरणीय बनेको छ ।

यसैबीच, चीन–अरब कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठले क्षेत्रीय र विश्वव्यापी शक्ति सन्तुलनमा नयाँ आयाम थप्ने देखिन्छ । यसरी सन् २०२५ का उपलब्धि, चुनौती र पीडालाई सम्झँदै विश्वले सन् २०२६ लाई आशा, सम्भावना र जिम्मेवारीका साथ स्वागत गरेको छ । नयाँ वर्षले शान्ति, सहकार्य र दिगो विकासको बाटो खोलोस् भन्ने कामना विश्वभर साझा रूपमा व्यक्त भइरहेको छ ।

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । 

नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । 

नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ । 

यसैगरी, आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस पनि मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । 

नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो,  यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । 

विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान शुरू गरेका हुन् । 

प्रतिक्रिया