निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको हो ।
नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले पाँच दिन म्याद थप गरेको हो।
‘प्रधानमन्त्री, गृहमन्त्रीका साथै सरोकारवालाले मतदाता नामावली दर्ता गर्ने समय थप्न सुझाव दिइरहनु भएको थियो । मतदाता नामावली दर्ता गर्नेहरूको चाप पनि कायमै रहेको अवस्थामा ५ दिन म्याद थप गरेका हौं,’ भण्डारीले भने ।
राष्ट्रिय परिचय नम्बरको आधारमा मतदात नामावलीमा नाम संकलन गर्न पाउने भएसँगै युवा पुस्ताको संख्या बढेको छ। आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको चुनावका लागि निर्धक्क भएर मतदान गर्न पाउने वातावरण बन्ने छ।
यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै ५ मंसिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ ।