आज नयाँ वर्ष

खबर नागरिक

आजदेखि विक्रम संवत् २०८३ शुरू भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ । वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । 

सबैभन्दा पुरानो संवतका रूपमा स्थापित विक्रम संवत् अन्तर्गत नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन अर्थात् मेष सङ्क्रान्ति पनि हो । 

सूर्यको गतिसँग आधारित भएकाले यो संवत् शाश्वत तथा वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । हरेक व्यक्तिले गएको वर्षका सफलता–असफलताको मूल्याङ्कन गरी नयाँ सङ्कल्पसहित अघि बढ्ने चलन छ । 

विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ।

सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्।

बिहानै नुहाउने, घरआँगन सफा गर्ने, मठमन्दिरमा पूजाआजा गर्ने र साथीसङ्गी तथा इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्ने परम्परा आज देशभर नै मनाइन्छ । भक्तपुरमा बिस्का जात्रा र तराईमा सहलेश फूल फूल्ने विशेषता पनि यही दिनसँग जोडिएको छ । 


प्रतिक्रिया