बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। प्रहरीका अनुसार दुर्घटनास्थलमै ८ जनाको ज्यान गएको थियो भने थप ५ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।
पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार बेलुका करिब ८ बजे पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा दुर्घटनामा परेको हो। बिहे समारोहबाट बझाङ फर्किंदै गरेको उक्त बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार दुर्घटनामा बझाङ र बैतडीका विभिन्न स्थानका यात्रुहरू ज्यान गुमाएका छन्। घटनास्थलमै सात जना पुरुष र एक महिलाको मृत्यु भएको थियो भने पाँच जनाको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
दुर्घटनामा ३२ जना यात्रु घाइते भएका छन्। उनीहरूको डडेल्धुरा, धनगढी र बझाङस्थित स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ। घाइतेहरूको उद्धार कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको संयुक्त प्रयासमा गरिएको थियो।
प्रारम्भिक अनुसन्धानले कच्ची तथा उकालो सडकमा अत्यधिक भारका कारण बस अचानक पछाडि सरेर दुर्घटना भएको हुन सक्ने देखाएको प्रहरीले जनाएको छ। बस चालक कञ्चनपुर भीमदत्त नगरपालिका–७ का वीरन्द्र बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। दुलाहा–दुलही भने अर्काे सवारी साधनमा रहेकाले सुरक्षित रहेको प्रहरीले स्पष्ट पारेको छ।