नयाँ वर्षको पूर्वसन्ध्यामा भैरहवामा रैथाने सडक खाना महोत्सव

खबर नागरिक

भैैरहवा । नयाँ वर्ष–२०८३ को पूर्वसन्ध्यामा भैरहवामा पाँचौं सिद्धार्थ रैथाने सडक खाना महोत्सव हुन लागेको छ । 

भैरहवालाई ‘फुड हब’ र पर्यटकीय क्षेत्रको रूपमा चिनाउने उद्देश्यका साथ होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रूपन्देहीको आयोजनामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै महोत्सव हुन लागेको हो ।

होटल व्यवसायी महासंघ नेपाल र लुम्बिनी प्रदेशको संरक्षकत्वमा सञ्चालन हुन लागेको महोत्सवमा स्थानीय रैथाने खानाको प्रवद्र्धन गर्न ८० बढि स्टल रहने संगठका अध्यक्ष राजेश महत्राले बताए । महोत्सवको मुख्य प्रायोजकको रूपमा गोर्खा ब्रुअरी सह–प्रायोजकको सारस विभरेज र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले  लगायतले प्रायोजन गरेका छन । कार्यक्रमलाई सफल बनाउन विभिन्न सरकारी निकायहरूसँग पनि समन्वय गरिएको अध्यक्ष महत्राले भने

स्थानीय खानाका साथै थारु, मगर, र गुरुङ समुदायका मौलिक परिकारहरू महोत्सवको मुख्य आकर्षण रहनेछन भने विभिन्न जातजातिका परिकार पस्किने स्टलहरूमध्ये उत्कृष्ट खाना बनाउनेलाई पुरस्कारको समेत व्यवस्था गरिने आयोजकले जानकारी दिएका छन । यसका साथै यस क्षेत्रका तारे र स्तरीय होटलहरुको सेफहरूले तयार पारेका विशेष परिकार ग्राहकले सुलभ र सस्तो मूल्यमा उपभोग गर्न पाउने अवसर यसले प्रदान गर्नेछन ।

महोत्सवलाई मध्यनजर गर्दै भारतीय पर्यटकहरूलाई लक्षित गर्दै सीमा नाकाहरूमा होर्डिङ बोर्ड र ब्यानरहरू राखिनुका साथै डिजिटल माध्यम (अनलाइन, टिभी, फेसबुक बुस्टिङ) बाट प्रचारलाई तीव्र पारिएको महासचिव सुनिल घिमिरेले भने । 

महोत्सवले यस क्षेत्रको पर्यटन विकास र आर्थिक चलायमान बनाउने अपेक्षा छ । महोत्सव आउँदो चैत ३० गते भैरहवाको रंगशाला रोडमा साँझ ७ बजेदेखि राति १२ बजेसम्म संचालन हुने छ । 

आयोजकका अनुसार सबै स्टलमा मूल्यसूचि अनिबार्य रुपमा राख्ने र गुणस्तर लगायतको विषयमा अनुगमन समितिले निरीक्षण गर्ने बताए । आयोजकका अनुसार, महोत्सवमा भारतीय र स्वदेशी गरी २५ देखि ३० हजार सहभागी हुने र १ करोड रुपैयाँ भन्दा धेरैको कारोवार हुने अनुमान गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार सहितको सांस्कृतिक कार्यक्रम पनि समावेश छ ।

स्थानीय उद्यमीहरूले आफ्नो सीप प्रदर्शन गर्ने यो महोत्सवले भैरहवालाई ‘फुड टुरिजम’ (खाद्य पर्यटन) को केन्द्रका रूपमा स्थापित गर्ने विश्वास आयोजकले लिएका छन ।  स्थानीय निजी व्यवसायीहरूको समेत पूर्ण समर्थन रहेको यस कार्यक्रमले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधिमा टेवा पुरÞ्याउने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया