भैरहवा । रुपन्देहीमा आयोजित अन्तक्र्रियामा उद्योगी तथा व्यवसायीहरूले भन्सार र राजश्व कार्यालयको सेवा अझै व्यवसायीमैत्री नबनेको गुनासो तीव्र रूपमा व्यक्त गरेका छन । उनीहरूले बिलबिजक भएका गाडीलाई पनि प्रहरीले अनावश्यक रूपमा रोकेर कार्यालय पठाउने पुरानै प्रचलन नहट्दा व्यवसायी दिनौँसम्म तनावमा बस्न बाध्य भएको बताए । कार्यालयभित्र बिचौलिया हाबी हुने, साना प्रक्रियामा अत्यधिक कागजी झन्झट हुने, अवैध तस्करी नियन्त्रणमा कमजोरी रहनेजस्ता कारणले व्यवसाय सञ्चालन जटिल बनेको उनीहरूको भनाइ थियो।
व्यवसायीहरूले कर्मचारीकै मिलेमतोले चोरी–तस्करी बढ्ने र गल्ती सरकारी कर्मचारीको भए पनि दण्ड व्यवसायीले भोग्नुपर्ने अवस्था सिर्जना भएको आरोप लगाए। विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले उद्योग, निर्माण तथा पर्यटन व्यवसायमा देखिएका पुराना समस्या समाधान नहुने, गाडी दिनौँसम्म रोकिराख्ने बानी नहट्ने तथा एक सामान्य नामसारी प्रक्रियामा समेत महिना दिन लाग्ने जस्ता विषय उठाए।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले रुपन्देही उद्योग–व्यवसायको केन्द्र भएकाले भन्सार र राजश्व सेवामा स्पष्टता, सहजता र व्यवहारिकता अनिवार्य रहेको बताए। एउटै गाडीमा धेरै व्यवसायीका सामान हुने भएकाले अवैध सामग्री भेटिए निर्दोष चालक वा व्यवसायी नफसाई वास्तविक दोषीलाई मात्र कारबाही गर्न पनि उनले आग्रह गरे
यता, राजश्व अनुसन्धान कार्यालयका प्रमुख राधेश्याम दाहालले कार्यालय कसैलाई दुःख दिन नभई राजश्व चुहावट नियमन गर्न प्रयत्नशील रहेको दाबी गरे। भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले भन्सार परिसर अव्यवस्थित हुँदा चुनौती देखिएको स्वीकार गर्दै आईसीपी निर्माणपछि सेवा सुधार हुने विश्वास व्यक्त गरे।
पूर्वअध्यक्षहरूले बिचौलिया संस्कृति, अस्पष्ट प्रक्रिया र सेवाग्राहीप्रति असम्मानजनक व्यवहार हट्न नसक्दा ‘पहिलेकै शैलीको भन्सार सोच’ कायम रहेको बताउँदै सुधारका लागि जोड दिए। समग्र निष्कर्ष अनुसार, भन्सार तथा राजश्व प्रणाली सुधारको आवश्यकता अझ बलियो रूपमा पुनः उठेको छ।