हाटी वनगाई खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा बन्जाडे

खबर नागरिक

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवामा रहेको हाटी वनगाई खानेपानी उपभोक्ता तथा सरसफाई संस्था (वडा नं. ३, ४ र ५) को प्रथम साधारण सभा तथा प्रथम अधिवेशनबाट गोपाल बन्जाडेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएकाे छ।

साेमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सरस्वती जि.सी., सचिवमा प्रदीप कुमार गुरुङ, कोषाध्यक्षमा दिपक रेग्मी तथा सह–सचिवमा नरहरि सुवेदी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा बिक्रम सुनार, बिष्णु जि.सी., गँगा जि.सी., प्रशान्त कुँवर, ज्ञानेश्वर चौधरी, तारा प्रसाद जैसी र दिपक देवकोटा चयन भएका छन्।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष संकर प्रसाद ज्ञवाली ले प्रतिवेदन प्रस्तुत गर्दै खानेपानी आयोजनाका चुनौतीबारे जानकारी गराए। उनले उपभोक्ताहरू पानी अभावका कारण संस्था समक्ष आउन नपरेको अवस्था उल्लेख गर्दै खानेपानी ट्याङ्की निर्माणमा टेन्डर प्रक्रिया भए पनि ट्याङ्की निर्माण कार्य ५–७ वर्षसम्म अल्झिँदा समस्या जटिल बनेको बताए। लामो समयसम्म आयोजना अघि नबढ्दा करिब १३ किलोमिटर पाइपलाइन ध्वस्त भएको उल्लेख गर्दै उनले अहिले निर्माण सम्पन्न भइसकेकाले सबै उपभोक्तालाई नियमित रूपमा खानेपानी प्रयोग गर्न आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सांसद देवी प्रसाद चौधरी ले स्वच्छ खानेपानी मानव जीवनको आधार भएको उल्लेख गर्दै पानीको उचित संरक्षण, सदुपयोग र दिगो व्यवस्थापनमा सबै उपभोक्ताको साझा दायित्व रहने बताए। उनले खानेपानीको पहुँचले स्वास्थ्य, सरसफाइ र समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने भएकाले यस किसिमका संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।

त्यसैगरी मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी ले स्थानीय तहले खानेपानी तथा सरसफाइ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उपभोक्ता संस्थासँग सहकार्य गर्दै सेवा विस्तार र सुधारमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए। उनले संस्थाको पहिलो साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न हुनु सुखद् पक्ष भएको बताए।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव जगन्नाथ न्यौपाने ले गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उपभोक्ता, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया