भैरहवामा विश्व ध्यान दिवस मनाइयो

खबर नागरिक

भैरहवा । विश्व ध्यान दिवसको अवसरमा द आर्ट अफ लिभिङ्ग आश्रम भैरहवाको आयोजनामा भैरहवामा ध्यान तथा श्वासप्रश्वास अभ्यास कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम भैरहवास्थित नेपाल नालन्दा बोर्डिङ स्कुलमा आयोजना गरिएको हो, जहाँ कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई ध्यान अभ्यास गराइएको थियो। कार्यक्रमको सहजीकरण प्रशिक्षक स्वामी देव दत्त ब्रहम्मचार्यले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले ध्यानले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले ध्यान अभ्यासले व्यक्तिलाई आफ्नो कर्म र जिम्मेवारीप्रति एकाग्र बनाउँदै कार्यक्षमता बढाउने उल्लेख गर्नुभयो।

यसैगरी सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले वर्तमान अवस्थामा ध्यान अभ्यास अपरिहार्य बन्दै गएको धारणा व्यक्त गर्नुभयो। उहाँले बढ्दो मानसिक तनाव न्यूनीकरण गर्न विद्यालय तहदेखि नै ध्यान र योगजस्ता अभ्यासलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

द आर्ट अफ लिभिङ्ग फाउण्डेशन सन् १९८१ मा गुरुदेव श्री श्री रविशंकरद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था हो। संस्थाले विश्वभर योग, ध्यान तथा श्वासप्रश्वास अभ्यासमार्फत करोडौँ मानिसलाई मानसिक शान्ति र सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउँदै आएको छ।

विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमले ध्यानलाई दैनिक जीवनको हिस्सा बनाउन र मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूको भनाइ छ।


प्रतिक्रिया