एमाले रुपन्देहीद्वारा अध्यक्ष ओली र रमेश लेखकको गिरफ्तारी विरुद्ध प्रदर्शन, प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र

खबर नागरिक

​​भैरहवा । ​नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा आइतबार जिल्ला प्रशासन कार्यालय, रुपन्देही अगाडि विरोध प्रदर्शन गरेको छ। एमालेका नेता तथा कार्यकर्ताहरूले गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै तत्काल रिहाइको माग गरेका छन्।


​जिल्ला प्रशासन कार्यालय पुगेका एमाले नेता-कार्यकर्ताहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउदै प्रशासन कार्यालय अगाडि सरकार विरोधी चर्को नाराबाजी गरेका थिए। जसका कारण केही समय सो क्षेत्रको वातावरण तनावग्रस्त बनेको थियो।

​एमालेले यस गिरफ्तारीलाई ​प्रतिशोधपूर्ण र पूर्वाग्रही कदम ​गैरकानूनी र अलोकतान्त्रिक व्यवहार ​विधिको शासनमाथिको प्रहार को संज्ञा दिएको छ।

​कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेताहरूले २०८२ भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन्। उनीहरूले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रहपूर्ण’ भन्दै त्यसलाई तत्काल खारेज गर्न सरकारसँग माग गरे।

​उनीहरुले अध्यक्ष केपी शर्मा ओली र नेता रमेश लेखकलाई विना शर्त रिहा गरिनुपर्ने, आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटमा संलग्न सबै पक्षमाथि राजनीतिभन्दा माथि उठेर कानुनी कारबाही हुनुपर्ने, घटनामा विभिन्न गैरसरकारी संस्थाहरूको संलग्नताबारे गम्भीर अनुसन्धान हुनुपर्ने, सरकारले आफ्ना कदम नसच्चाए मुलुक पुनः द्वन्द्वतर्फ धकेलिने र एमालेले देशभर थप सशक्त आन्दोलन छेड्ने चेतावनी दिएको छ।

​प्रदर्शन शान्तिपूर्ण रहे पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। माग सम्बोधन नभए भोलिदेखि नै थप आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने एमाले रुपन्देहीले जनाएको छ।


प्रतिक्रिया