भैरहवा । महिला उद्यमीलाई वित्तीय रूपमा सक्षम बनाउँदै स्वावलम्बी बनाउने लक्ष्यसहित फिनलिट फाउन्डेसनले वित्तीय साक्षरतामा आधारित अभियानलाई थप सुदृढ बनाएको छ। आम्दानी–खर्च व्यवस्थापनदेखि सुरक्षित लगानी र व्यवसायिक निर्णयक्षमतासम्म पुग्ने व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सिद्धार्थ उद्योग वाणिज्य संघको सहकार्यमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी महिलाहरूले दैनिक कारोबारमा प्रयोग गर्न सकिने सीप र ज्ञान सिक्न पाए।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रशिक्षक आविष्कार खनालले महिला उद्यमशीलताका लागि आवश्यक पर्ने वित्तीय व्यवस्थापन, बजेट निर्माण, डिजिटल कारोबार, सुरक्षित बैंकिङ अभ्यास, ऋणको सही उपयोग, जोखिम व्यवस्थापन, बीमा तथा लगानीका आधारभूत पक्षहरूबारे सरल र व्यवहारिक ढंगले मार्गदर्शन गरे।
सह–प्रशिक्षक केशव खनालले दीगो उद्यम संचालनका रणनीति, वित्तीय योजना, ग्राहक–विश्वास निर्माण तथा व्यापार विस्तारका लागि आवश्यक अनुशासनबारे विस्तृत प्रशिक्षण दिए।
उनका अनुसार, “महिलामा क्षमता प्रशस्त छ, कमी भने केवल वित्तीय जानकारी र दिशा–निर्देशनको हो। यस्ता तालिमहरूले व्यवसायलाई दीगो र सुरक्षित रूपले अघि बढाउन ठूलो टेवा पुग्छ।”
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले महिलाहरू आर्थिक क्षेत्रमा सक्रिय रूपमा अगाडि आउनु प्रसंशनीय रहेको बताउँदै दीर्घकालीन सफलताको आधार नै वित्तीय ज्ञान भएको उल्लेख गरे।
फिनलिट फाउन्डेसनका संयोजक टेकनाथ प्रसाईले संस्थाले वित्तीय साक्षरतामार्फत समुदायमा चेतना फैलाउने कार्य निरन्तर रूपमा गर्दै आएको जानकारी दिए।
उनले भने, “हामीले विभिन्न समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। आगामी दिनमा पनि अझ धेरै महिलासमक्ष पुगेर वित्तीय ज्ञानमार्फत उनीहरूको आर्थिक सशक्तिकरण गर्नमै हाम्रो ध्यान रहनेछ।”
कार्यक्रममा सहभागी महिलाहरूले प्रशिक्षकबाट पाएको व्यावहारिक सुझावले आफ्नो व्यवसाय विस्तार, खर्च नियन्त्रण, डिजिटल कारोबार सञ्चालन तथा ग्राहक–विश्वास वृद्धि गर्न सघाउने विश्वास व्यक्त गरे।
फिनलिट फाउन्डेसनले आगामी दिनमा महिला उद्यमी, युवा तथा अन्य समुदायहरूलाई लक्षित गर्दै वित्तीय शिक्षा कार्यक्रम अझ व्यापक रूपमा विस्तार गर्ने योजना अघि सारेको छ।