इंग्ल्याण्डविरुद्ध नेपाल आज टी–२० विश्वकप भिडन्तमा

खबर नागरिक

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज नेपालले ऐतिहासिक प्रतिस्पर्धा गर्दै इंग्ल्याण्डसँग मैदान उत्रिँदैछ। मुम्बईको वानखेडे स्टेडियममा समूह ‘सी’ अन्तर्गत हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। कुनै पनि अन्तर्राष्ट्रिय फम्र्याटमा इंग्ल्याण्डसँग नेपालले पहिलो पटक खेल्न लागेकाले यसलाई विशेष चासोका साथ हेरिएको छ।

आजै विश्वकपका अन्य खेलहरू पनि तय छन्। बिहान ११ः१५ बजे समूह ‘डी’ मा अफगानिस्तान र न्यूजील्याण्ड भिड्दैछन् भने राति ७ः१५ बजे समूह ‘बी’ अन्तर्गत श्रीलंका र आयरल्याण्ड आमनेसामने हुनेछन्।

नेपाल यसअघि दुई पटक टी–२० विश्वकप खेलिसकेको छ। २०१४ मा बंगलादेशमा डेब्यु गरेको नेपाल रनरेटका कारण सुपर चरणमा पुग्न असफल भएको थियो। २०२४ संस्करणमा फर्किएको टोलीले प्रतिस्पर्धात्मक खेल खेले पनि समूह चरण पार गर्न सकेन।

यसपटक रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली मैदानमा उत्रिएको छ। टोलीमा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेललगायत प्रमुख खेलाडी समावेश छन्। नेपाल रहेको समूहमा इंग्ल्याण्डसहित स्कटल्याण्ड, इटाली र वेस्ट इण्डिज छन्। नेपालले आगामी खेलहरू क्रमशः इटाली, वेस्ट इण्डिज र स्कटल्याण्डसँग खेल्ने तालिका छ।

प्रतिक्रिया