भैरहवा । ओमसतिया १ रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध भएको छ । संस्थाले प्राधिकरणबाट ‘सहकारी संस्थाको सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको छ भने कर्जा सूचना केन्द्र लिमिटेडमा दर्ता भएको छ ।
कर्जा सूचना केन्द्रले माघ ७ गते सूचना जारी गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुका लागि सदस्यता आव्हान गरेको थियो । ८ गते सहकारीलाई सदस्यता प्रदान गरेको आधिकारिक पत्र पठाएको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड,२०८२ को नियम ४ बमोजिम उक्त संस्थाले ’सहकारी संस्थाको सञ्चालन इजाजतपत्र’प्राप्त गरेको हो । संस्थाको इजाजतपत्र नं. २०६२–०१२६६ रहेको छ । लुम्बिनी प्रदेशको नियामकीय निकाय रहेको उक्त संस्थाको कार्यक्षेत्र रुपन्देही जिल्लाभर रहेको छ । अन्य बैंक वित्तीय संस्था तथा सहकारीहरूलाई जस्तै त्यस संस्थालाई पनि कर्जा सूचना सम्बन्धी सबै सेवाहरू प्रदान गर्न केन्द्र सदा तत्पर रहेको जनाएको छ ।
संस्था कर्जा सूचना केन्द्र लिमिटेडमा दर्ता हुँदा सहकारी कर्जा कारोबारलाई व्यवस्थित तथा सुरक्षित गर्न र ऋणी सदस्यहरुलाई कर्जा अनुशासनमा रही कारोवार गर्न केन्द्रको सदस्येतालेसहयोग पुग्ने प्रबन्धक लक्ष्मन काउचाले बताए । प्राधिकरणमा दर्ता अभिलेखीकरण पश्चात वित्तीय कारोबार गर्नका लागि संस्थाले इजाजतपत्र प्राप्त गरी वैधानिकता पाएको उनको भनाई छ । प्राधिकरणले दिएको समय सीमाभित्र नै संस्थाले बचत ऋणको कारोबार गर्न इजाजतपत्र लिएको उनले जानकारी दिए ।
२०८२ पौष मसान्तसम्म संस्थाको कुल सम्पत्ति ९२ करोड, ३१ लाख रहेको छ । त्यस अवधिमा संस्थाको शेयर पुँजी ७ करोड५९ लाख, जगेडा कोष ६ करोड २८ लाख, कुल बचत ७० करोड ३४ लाख, ऋण लगानी ६३ करोड २० लाख रहेको छ । पौष मसान्तमा संस्थामा ३३.९२ प्रतिशत रकम तरलता रहेको छ । संस्थामा ७ हजार ३२८ जना सदस्य आवद्ध रहेका छन् भने २ हजार २३ जना सदस्यले ऋण लिएका छन् ।
सहकारी क्षेत्रमा पारदर्शिता, कर्जा अनुशासन तथा जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउने र केन्द्रसँग आबद्ध भएपछि सहकारीको कर्जा सूचना प्रणाली व्यवस्थित हुनुका साथै दोहोरो कर्जा, अस्वस्थ प्रतिस्पर्धा र जोखिम न्युनिकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।