भैरहवा, फागुन १५ । प्रतिनिधिसभा सदस्य पदका लागि फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा रूपन्देही निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले मतदातासमक्ष भावनात्मक र विकासमुखी अपिल गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ।
मतदाताको घरदैलोमा पुर्याइएको अपिल पत्रमा घिमिरेले आगामी निर्वाचनलाई रूपन्देही–३ को विकास र समृद्धिको यात्रालाई तीव्रता दिने सुनौलो अवसरु को रूपमा चित्रण गर्नुभएको छ।
तिलोत्तमा नगरपालिकाको पूर्व प्रमुख तथा संघीय सांसदको जिम्मेवारी सम्हालिसक्नुभएका घिमिरेले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्नुभएको छ। उहाँले भन्नुभएको छ,सार्वजनिक जीवनमा आर्जन गरेको अनुभवका आधारमा यस क्षेत्रको विकासमा नयाँ आयाम थप्ने मेरो संकल्प छ।
घिमिरेले आफ्नो प्रतिबद्धता पत्रमार्फत क्षेत्रको समग्र विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा दिगो रूपमा सञ्चालन गर्न आवश्यक नीतिगत प्रबन्ध गर्ने, पूर्वाधार विकासमा रणनीतिक तथा महत्त्वपूर्ण सडकहरूको स्तरोन्नति गर्ने, सामुदायिक विद्यालय तथा क्याम्पसहरूको भौतिक र शैक्षिक गुणस्तर सुधार गर्ने र सरकारी स्वास्थ्य संस्थाको प्रभावकारिता बढाउने ,भूमिहीन र अव्यवस्थित बसोबासीको समस्यालाई दिगो रूपमा समाधान गर्ने, किसानलाई समयमै मलखाद, बिउबिजन, प्राविधिक परामर्श र सिँचाइको व्यवस्था गर्ने, भ्रष्टाचारमुक्त र पारदर्शी प्रशासनको वकालत गर्दै जनमैत्री कानुन निर्माणमा सक्रिय रहने प्राथमिकतामा राख्नुभएको छ ।
चार दशक लामो राजनीतिक यात्रामा यसै क्षेत्रको भूगोल र जनताको सुख,दुःखसँग जोडिएको उल्लेख गर्दै घिमिरेले युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना गर्न औद्योगिक र सेवा क्षेत्रको विस्तार आवश्यक रहेको बताउनुभएको छ।
उहाँले निर्वाचित भएपछिकुर्सीभन्दा जनताु लाई प्राथमिकता दिने र चुनावपछि पनि निरन्तर जनताकै माझमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तीनै तहका सरकारबीच समन्वय गरी प्रणालीगत विकासमा जोड दिने उहाँको मुख्य एजेन्डा रहेको छ।