युवा र विपन्न परिवारकाे कार्यक्रम प्राथमिकतामा राख्नेः गौरव बोहरा

खबर नागरिक

भैरहवा,९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार गौरव बोहराले युवा तथा उद्यमशीलतामुखी र विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने कार्यक्रम अघि सार्ने बताएका छन । युवालाई स्वरोजगार बनाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता सहित उनले क्षेत्रका युवाहरुको वैदेशिक रोजगारीमा बढ्दो निर्भरता र स्थानीय स्तरमै अवसर प्रदान गर्ने र विपन्न परिवारको अवस्था नाजुक रहेकाे पाएकाेले अाधारभूत अावश्यकता बासकाे व्यव्स्थापन घामपानीबाट जोगिन सुरक्षित घर बनाउने सपना  रहेकाे बताए ।

आर्थिक अभावका कारण उचित बसोबासको व्यवस्था गर्न नसकेका विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण गर्ने प्रतिबद्धता छ । यस्तै यस क्षेत्रका धेरै युवा सीप र क्षमता हुँदाहुँदै पनि आवश्यक पूँजी, तालिम र बजार पहुँच नपाउँदा विदेशिन बाध्य भएकोले त्यसको अन्त्यको लागि आफुले कार्य गर्ने उनको भनाई छ । यही अवस्थालाई परिवर्तन गर्न स्वरोजगार र साना उद्यम प्रवर्द्धनमा जोड दिने बोहराले बताए।

‘रोजगारी खोज्दै विदेश जानु युवाको बाध्यता बन्नु हुँदैन,’बोहराले भने, ‘स्थानीय स्तरमै उद्यम सुरु गर्न सक्ने वातावरण, सहुलियत ऋण र सीपमूलक तालिमको व्यवस्था गर्नु आवश्यक छ।’

उनले कृषि, पशुपालन, साना उद्योग, प्रविधिमैत्री व्यवसाय र स्टार्टअप प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने बताए। स्थानीय उत्पादनको बजारीकरण, सहकारी तथा बैंकमार्फत सहुलियत वित्तीय पहुँच र तालिम केन्द्रसँग समन्वय गरेर युवालाई आत्मनिर्भर बनाउने योजना रहेको उनको दाबी छ।

‘सरकारको भूमिका युवालाई जागिर दिने मात्र होइन, व्यवसाय गर्ने आधार तयार गरिदिने हो,’उम्मेदवार बोहराले भने, ‘नीति र कार्यक्रममार्फत स्वरोजगारलाई व्यवहारमै उतार्ने प्रयास गर्छु ।’

उनले युवाको ऊर्जा र सीपलाई सही दिशामा उपयोग गर्न सके क्षेत्रको आर्थिक गतिविधि स्वतः चलायमान हुने भन्दै स्वरोजगारमैत्री वातावरण निर्माणलाई आफ्नो एजेन्डा बनाएको बताए।

उनले लालपुर्जा बिहीन नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गर्न पहल गर्ने, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने, स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन गर्ने, यौनिक अल्पसंख्यक तथा फरक क्षमता भएका नागरिकको सम्मानजनक जीवन सुनिश्चित गर्ने र नगर क्षेत्रमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि अघि सारेका छन । 

प्रतिक्रिया