रुपन्देहीमा १५९ जनाको उम्मेदवारी

खबर नागरिक

भैरहवा । प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारीको लागि रुपन्देहीबाट १ सय ५९ जनाले उम्मेदवारी दिएका छन । मंगलबार साँझ ५ बजेसम्म भएको मनोनयनको समयावधिमा रुपन्देहीको ५ वटा निर्वाचन क्षेत्रबाट सो संख्यामा उम्मेदवारले मनोनयन दर्ता गराएका हुन । 

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार रुपन्देही क्षेत्र नम्बर १ बाट ३२ जना, क्षेत्र नम्बर २ बाट ४१ जना, क्षेत्र नम्बर ३ बाट ३६ जना, क्षेत्र नम्बर ४ बाट २२ जना र क्षेत्र नम्बर ५ बाट २८ जनाले मनोनयन दर्ता गराएका जानकारी दिईन । केहीको कागजातमा केही समस्या भएकोले संख्यामा केही फरक हुन सक्ने बताइन ।

कार्यालयका अनुसार स्वतन्त्र रुपमा उल्लेखीय रुपमा उम्मेदवारी दर्ता भएको छ । जस अनुसार क्षेत्र नम्बर १ मा १२, २ मा २०, ३ मा १७, ४ मा ७ र ५ मा ९ जना गरी ६५ जनाले स्वत्त्रन रुपमा उममेदवारी दिएका छन भने ९४ जनाले दलबाट उम्मेदवारी दिएका छन । उम्मेदवारी दिएका मध्ये न्यून मात्रामा महिला रहेका छन । 


निर्वाचन आयोगले तोकेको मनोनयनको समयमा दल र स्वतन्त्रले सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले शान्तिपूर्वक रुपमा उम्मेदवारी दर्ता भएको जनाए । यहाँ उत्साहका साथ निर्वाचन पर्वका लागि सबै निर्वाचन क्षेत्रमा प्रमुख दल काँग्रेस, एमाले, नेकपा, राप्रपा, रास्वपा, जनमत, जसपा नेपाल लगायत दलले मनोनयन दर्ता गरेका छन् । ‘सबै दल र स्वतन्त्ररुपमा पनि पाँचवटै क्षेत्रमा मनोनयन भएको छ’, उनले भने, ‘निकै उत्साहका साथ मनोनयन हुँदा सबै उत्साहित छौं ।’ उनले निर्वाचन हुँदैन की भन्ने आशंकाहरु पनि मनोनयसँगै सकिएको बताए । ‘अब, मुलुक निर्वाचनमा होमियो’, उनले भने, ‘निर्वाचनलाई उत्सवका रुपमा मनाउनुपर्छ ।’

साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्ने उम्मेदवारले दर्ता प्रक्रिया पूरा गरेका हुन । 

निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट हिराबहादुर केसी, एमालेबाट दधिराम न्यौपाने, रास्वपाबाट सुनिल लम्साल , राप्रपाबाट प्रज्वल बोहरा, नेकपाबाट घनश्याम यादव, जसपाबाट मोहम्मद अस्लम खाँन लगायतको उम्मेदवारी परेको छ । यहाँ१ लाख ४६ हजार ८ सय २४ जना मतदाता छन । 

यस्तै क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद पौडेल, नेपाली काँग्रेसबाट चुन्नुप्रसाद पौडेल, रास्वपाबाट सुलभ खरेल, नेकपाबाट बिश्वदीप पाण्डे, राप्रपाबाट कर्भिका थापा,  जसपाबाट दीपक गुरुङ लगायतको उम्म्ेदवारी छ । यहाँ १ लाख ३५ हजार ५० मतदाता रहेका छन । 

क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट सुशील गुरुङ, एमालेबाट बासुदेव घिमिरे, रास्वपाबाट डा.लेखजंग थापा, राप्रपाबाट गौरब बोहरा, नेकपाबाट फैज अहम्मद खाँ, जसपा नेपालबाट श्रीनिवास यादव लगायतको उम्मेदवारी परेको छ । यहाँ १ लाख ४० हजार ३५ रहेका छन ।

क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसबाट आशुतोष मिश्र, एमालेबाट प्रमोदकुमार यादव, रास्वपाबाट कन्हैया बनियाँ, जनमत पार्टीबाट भोपेन्द्र यादव , जसपा नेपालबाट सर्वेन्द्रनाथ शुक्ल,  नेपाली कम्युनिष्ट पार्टीबाट बावुलाल यादव,  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिउद्दिन खान लगायतले उम्मेदवारी दर्ता गराएका छन । यहाँ १ लाख १६ हजार १ सय ७२ मतदाता रहेका छन ।

क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसबाट भरतकुमार शाह, एमालेबाट खिमलाल भट्टराई, रास्वपाबाट तौफिक अहमद खाँ, नेकपाबाट मोहम्मद वकिल मुसलमान, राप्रपाबाट मिनप्रसाद घिमिरे, जसपा नेपालबाट मोहम्मद वहिद फकिर लगायतको उम्मेदवारी परेको छ ।यहाँ १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेका छन । 

२७५ सदस्यीय प्रतिनिधि सभामा ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् । समानुपातिकतर्फको मनोनयन पुस १३ र १४ गते सकिसकेको थियो भने प्रत्यक्षतर्फको मनोनयन आज भएको हो ।


प्रतिक्रिया