निर्वाचन आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा हाल सम्म जम्मा १ हजार ६ सय ७७ वटा जिज्ञासा प्राप्त भएकाे छ । यसमध्ये मतदाता नामावलीसम्बन्धी ९ सय ६, निर्वाचन आचारसंहितासम्बन्धी १ सय ३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य ५ सय ७५ रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउनुभयो ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको छ । जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रकरकोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकेको छ ।
प्रवक्ता भट्टराईका अनुसार, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या वा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउने योजना आयोगले अघि बढाइरहेको छ ।
हानिकारक सूचना उत्पादन वा सम्प्रेषण गर्ने १ सय २० विषयवस्तु उत्पादक/सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइएको छ । ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ ।
त्यस्तै, १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ अनुसार कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यस्तै चुनावमा निजी क्षेत्रसँग पनि छलफल भएको छ । निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले अहिलेसम्म १ सय ५८ सामग्री स्वीकृत गराएर आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमा राखेको छ ।
आयोगले आचारसंहिता उल्लङ्घन हुनेगरी मिथ्या-भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको जनाएको छ।