भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देहीले जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँग उद्योग–व्यापारको सुरक्षा, तस्करी नियन्त्रण तथा व्यवसाय प्रवर्द्धनका विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आइतबार सङ्घको सभाहलमा आयोजित कार्यक्रममा सीमा क्षेत्रमा बढ्दो तस्करी, सुरक्षा चुनौती र ट्राफिक व्यवस्थापनका विषयमा गम्भीर छलफल भएको हो।
कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले वैध व्यवसाय गर्नेहरूलाई राज्यले सुरक्षा र सहयोग गर्नुपर्ने बताए । उनले सीमा क्षेत्रमा हुने अवैध व्यापारले देशको अर्थतन्त्र र स्थानीय व्यवसायीलाई धराशायी बनाएको उल्लेख गर्दै तस्करी नियन्त्रणमा सुरक्षाकर्मीको सक्रियता माग गरे । साथै, गलामण्डी लगायतका क्षेत्रमा हटाइएका अस्थायी प्रहरी पोस्टहरू पुनः स्थापना गर्न उनले आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले वर्तमान आर्थिक संकटको समयमा उद्योगीहरूको मनोबल उच्च राख्न सुरक्षा निकायले सहयोगी भूमिका खेल्नुपर्ने बताए । यस्तै, केन्द्रीय सदस्य भीष्म प्रसाद न्यौपानेले लागूऔषध नियन्त्रणमा प्रहरीको भूमिकाको प्रशंसा गर्दै तस्करी नियन्त्रणमा पनि उस्तै कडाइ आवश्यक रहेको औंल्याए ।
छलफलका क्रममा विभिन्न क्षेत्रका व्यवसायीहरूले आफ्ना समस्या राखेका थिए । पेट्रोलियम व्यवसायी राजु पौडेलले किसानले ग्यालेनमा डिजेल लैजाँदा प्रहरीले गर्ने अवरोध हटाउन माग गरे । व्यवसायी गंगाराम पराजुली र पशुपति कान्दुफे खुला सीमाका कारण मोटरसाइकलमार्फत हुने चिनी र किराना सामग्रीको तस्करी रोक्न आग्रह गरे । सल्लाहकार विष्णुप्रसाद शर्माले डिजिटल सुरक्षा प्रणाली अपनाउनु पर्ने, सुनचाँदी व्यवसायी राजन बिकले सूक्ष्म अनुसन्धान बिना व्यवसायीमाथि कारबाही नगर्न आग्रह गरे । होटल व्यवसायी राजेश महोत्राले पर्यटन प्रवर्द्धनका लागि सहकार्य आवश्यक रहेको बताए । अधिवक्ता शिव गाैडेलले फितलो ट्राफिक व्यवस्थापन सुधार गर्नुपर्नेमा जोड दिए ।
व्यवसायीका कुरा सुनेपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले प्रहरी प्रशासन उद्योगीका समस्याप्रति सचेत रहेको बताए । उनले व्यावहारिक पक्षलाई ध्यान दिने तर कानुन उल्लङ्घन गर्ने जो कोहीलाई पनि नछोड्ने स्पष्ट पारे।
त्यस्तै, सशस्त्र प्रहरी बल नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी हरदम तयार रहेको बताए उनले भारतबाट अवैध रूपमा आएका सामान कसले खरिद–बिक्री गर्छ भन्ने कुरामा स्वयम् व्यवसायी र सङ्घले पनि निगरानी बढाउनुपर्नेमा जोड दिए ।
सङ्घका महासचिव कृष्णप्रसाद घिमिरेले सञ्चालन गरेकाे उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिलिप कान्दुले समापन मन्तव्य राख्दै सुरक्षा निकाय र निजी क्षेत्रबीचको नियमित संवादले मात्रै व्यापारिक वातावरण सहज हुने विश्वास व्यक्त गरे ।