भैरहवामा आचारसंहिता मिच्दै कांग्रेस उपसभापतिसँग भेटघाटको नाममा भेला

खबर नागरिक

भैरहवा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिताले २०८२ ले फागुन ४ गतेदेखि मात्रै सभा गर्न पाउने भनेपनि अधिकांस राजनैतिक दलहरुले त्यसलाई नजरअन्दाज गर्दै कार्यक्रमहरु गरिरहेका छन । यस अघि राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा कोण सभा गर्दै आचारसंहिता उल्लघन गरेपछि बिहीबार नेपाली कांग्रेसले पनि हल नै खचाखच हुनेगरि पार्टी सदस्य भेटघाट कार्यक्रम गरेको हो । 

निर्वाचन आचारसंहिता २०८२ को दफा १३ (म) मा मतदान हुने दिन भन्दा सत्र दिन अगाडि मात्रै जुलुस आमसभा, वा कोणसभा गर्न, सञ्चार माध्यममा प्रचार प्रसार सामाग्री प्रकाशन वा प्रसारण गर्न, प्रचार प्रसारको लागि घरदैलो कार्यक्रम गर्न पाउने उल्लेख गरेपनि कांग्रेस रुपन्देहीको आयोजनामा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामै चुनावी कार्यक्रम भएको छ । 

भैरहवाको युनिक बैंक्वट हलमा उक्त कार्यक्रम भएको हो , जस्मा सयौँ संख्यामा उपस्थिती रहेको थियो । निर्वांचन आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३फिट बाई ४ फिट नापको बाहेक दलको प्रचार प्रसार गर्ने उद्धेश्यले कुनै फ्लेक्स वा वोर्ड राख्न नहुने भनेपनि हलमा समय अगाडि नै ठुला व्यानर र गेटमै दलको झण्डा राखी कार्यक्रम गरिएको छ । 

निर्वांचनको परिच्छेद ३ को दफा ५ को (क) मा मन्त्री, स्थानीय कार्यपालिका पदाधिकारीहरु राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने भनिए पनि पालिकाका निर्वाचितहरु कार्यक्रममा मञ्चमै बसी सहभागी भएका छन ।

उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रब्यदृश्य सामग्रीहरू प्रदर्शन वा प्रसारण गर्न नहुने भनेको छ 

अहिले सामान्य भेटघाट मात्रै हुनु पर्नेमा भेटघाटको नाममा सभा नै भइरहदा समेत नियामक निकाउ मौन छ । 

कांग्रेसको कार्यक्रमका लागि सबैलाई पार्टी सदस्य भेला तथा निर्वाचन सम्बन्धी छलफल कार्यक्रम भनेर सबैलाई नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमाका मेयरले निमन्त्रणा गरेका थिए ।कार्यक्रममा रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई राखेर प्रचारात्मक कार्य गरिएको छ । 

सभा भेला गर्दा स्थानीय प्रशासनको अनुमति लिनु पर्नेमा प्रशासनको विना जानकारी यो कार्यक्रम गरिएको हो । भेलाले केही बेर सडकनै अवरुद्ध गरेको छ ।  

उम्मेदवारहरूले निर्वाचन आचार संहिताको पालना गर्ने प्रतिबद्धता जनाएपनि पार्टी उपसभापतिकै उपस्थितीमा उल्लंघनको काम भएको छ । अहिले व्यक्तिगत र सामुहिक रुपमा भेटघाट मात्रै गर्न मिल्ने व्यवस्था छ । उपस्थितहरुले पनि आचारसंहिता विपरित चुनाव चिन्ह अंकित व्याच लगाएका छन । 

जिल्ला निर्वाचन अचारसंहिता अनुगमन समिति अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले रुपन्देही कांग्रेसको कार्यक्रमबारे केही जानकारी नभएको बताए । हल भित्र सामान्य भेटघाट बाहेकको गतिविधी अहिले गर्न पाइदैन, फागुन ४ गते पछि मात्रै सभा गर्न पाउने व्यवस्था रहेको उनले भने ।  

समग्र जिल्लाबाट सामान्य उल्लंघनको उजुरी आएकोले हामीले सम्बन्धितलाई सो को जानकारी गराई हटाउन लगाई आचारसंहिता पालना गराउने तर्फ लागेका उनले भने ।

पोस्टर व्यानर टासेको घटना रुपन्देही ४ मा बढि देखिएकोले निर्वाचन अनुगमन समितिले सुरक्षा निकायको सहयोगमा केही ठाउमा हटाएको छ । निर्वाचन आयोगले आचार संहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुनेदेखि उम्मेदवार रद्दको निर्णयसम्म हुन सक्ने व्यवस्था गरेको छ । यस पटक आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अन्तर्गत कारबाही हुन सक्ने व्यवस्था निर्वाचन आचार संहिता २०८२ मै उल्लेख गरेको छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार आचारसंहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँदेखि उम्मेदवारी रद्दको निर्णयसम्म हुनसक्ने व्यवस्था आचारसंहिताको दफा ४८ मा उल्लेख गरिएको छ । मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतको संयोजकत्वमा जिल्ला निर्वाचन अचारसंहिता अनुगमन समिति रुपन्देहीमा ७ सदस्यीय समिती छ । 


प्रतिक्रिया