निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गर्दैछ। जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ सुरु गर्न लागिएको हो। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए। त्यसमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन्।
समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ गर्न लागेको हो। नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइ हुने छ।
निर्वाचन आयोगका अनुसार समानुपातिकमा कुल मतदाताभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छपाइ हुनेछ। सरदर दुई करोड मतपत्र समानुपातिकका लागि छपाइ हुनेछ। फागुन २१ गतेको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता निर्वाचनमा सहभागी हुनेछन्।
आयोगबाट स्वीकृत डिजाइन अनुसार समानुपातिक मतपत्रमा सेतो कागजमा कालो रङको प्रयोग हुने छ। समानुपातिक निर्वाचनमा भाग लिने गरी उम्मेदवारको बन्दसूची पेश गरेका दलका ५८ चिह्न मतपत्रमा हुने छ। समानुपातिकमा देशभरका लागि एकै प्रकारको मतपत्र प्रयोग हुने छ । प्रत्यक्षमा भने निर्वाचन क्षेत्र अनुसार फरक–फरक हुने छ।
प्रत्यक्षतर्फको मतपत्र छपाइ माघ ९ गतेपछि शुरु गर्ने आयोगको तयारी छ। मङ्गलबार डमी मतपत्र छापिएको भए पनि बुधबारदेखि पूर्ण रूपमा अन्य मतपत्र छाप्न सुरु गरिएको हो । नमुना मतपत्र गाउँ गाउँमा मतदाता शिक्षाका लागि प्रयोग गरिने छ । नमुना मतपत्र छपाइ सकिएपछि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु भएकाे हाे । समानुपातिकको मतपत्र दुई करोड आठ लाख ५० हजार थान छापिने छ । यो काम माघ ९ गते सक्ने जनक शिक्षा सामग्री केन्द्रको योजना छ । त्यसपछि माघ १२ गतेबाट प्रत्यक्षतर्फको मतदानका लागि मतपत्र छपाइ सुरु गरिने केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिनुभयो । प्रत्यक्षतर्फको मतदानका लागि दुई करोड थान मतपत्र छापिने छ । यी मतपत्र छपाइका लागि केन्द्रले चार वटा मेसिन तयारी अवस्थामा राखेको छ । सोही अनुसार जनशक्ति पनि तयारी अवस्थामा राखेको छ । मतपत्र छपाइ तयारीबारे निर्वाचन आयोगको प्रतिनिधिले यसअघि नै अनुगमन गरिसक्नुभएको छ । मतपत्र छपाइ स्थलमा नेपाली सेनाले सुरक्षा दिने जनक शिक्षाले जनाएको छ ।
निर्वाचन आयोगले मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाइ भने सकेको छ। समानुपातिक र प्रत्यक्ष दुवैतर्फ गरी १० लाख नमूना मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।