भैरहवा । फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा रूपन्देहीका राजनीतिक दलहरू आफ्नो चुनावी अभियानमा व्यस्त छन्। यसैबीच, राष्ट्रिय जनमुक्ति पार्टी द्वारा शुक्रबार रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३, सिद्धार्थनगरमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेको छ। कार्यक्रममा पार्टिका उम्मेदवार मोजिब अलि मुसलमानले कार्यलय उद्घाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै उनले भने, “यो देश बनाउनका लागि हाम्रा केही योजनाहरू छन्, हाम्रा केही नीति छन्। यदि मुलुकमा कुनै इमान्दार पार्टी छ भने त्यो राष्ट्रिय जनमुक्ति पार्टी नै हो।
साथै उनले अन्य दलहरूले घोषणापत्र जारी गरे पनि त्यस अनुसार काम नगरेको बताउदै अन्यपार्टिहरुले नेपाली जनतालाई ठग्दै आएको बताए ।
उनले थपे, “हामीलाई एकपटक मौका दिनुहोस्। हामी यो देशको मुहार फेर्न, विकास गर्न र प्रगतिशील बनाउने उद्देश्यमा पूर्णरूपमा प्रतिबद्ध छौं।
हामी इमान्दार छौं र हाम्रो कामको जवाफदेही छ। यदि हामीले हाम्रो घोषणापत्रअनुसार काम नगरेमा तपाईंहरूले अदालतमा राइट अ कोडको मुद्दा दायर गर्न सक्नुहुन्छ।”
मुसलमानले राष्ट्रिय जनमुक्ति पार्टीलाई अन्य पार्टीभन्दा भिन्न र उत्कृष्ट भएको दाबी गर्दै सबैलाई पार्टीमा एकजुट भएर अघि बढ्न आह्वान गरे। यस अवसरमा पार्टीका स्थानीय नेता, कार्यकर्ता र नागरिकसमेत सहभागी भएका थिए।