भैरहवा। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको आयोजनामा रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी युवाहरूले प्रत्यक्ष र तीखा प्रश्न सोध्दै आफ्नो असन्तुष्टि र अपेक्षा व्यक्त गरेका थिए। क्षेत्र नम्बर ३ किन रोज्नुभयो? के भिजन र सपना देखेर यहाँ आउनुभएको हो? पार्टीको आधारमा हो कि टिकटको आधारमा?” साथै विगतका सरकारका निर्णय र राजनीतिक स्थायित्वबारे प्रश्न गर्दै भविष्यमा अडान फेरिने–नफेर्ने ग्यारेन्टी के छ? भन्दै कार्यक्रममा सहभागीहरुले प्रश्न गरे ।
कार्यक्रममा विशेष ध्यान विमानस्थल सञ्चालनको विषयमा पनि केन्द्रित थियो। “गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन ठीकसँग चलेन? विगतमा के कारणले संचालनमा समस्या आयो?” कार्यक्रममा सहभागीले सोधे ।
युवाले पार्टी एजेन्डा, समानुपातिक उम्मेदवार छनोटमा पिछडिएका समुदायको प्रतिनिधित्व, नेतृत्व क्षमताबारे पनि प्रश्न उठाए। यसैगरी, राजीनामा र उम्मेदवारीको स्पष्टता, राजनीतिक स्थायित्व र सामाजिक न्यायसम्बन्धी प्रश्नहरू उठाइए।
उम्मेदवारहरूले जवाफमा आफ्नो योजना व्यवहारमै लागू गर्ने, जनताको अपेक्षा अनुसार काम गर्ने र विमानस्थल लगायत क्षेत्रीय विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
कार्यक्रमले युवापुस्ताको राजनीतिक सचेतना र असन्तुष्टिलाई स्पष्ट झल्काएको आयोजकले बताएका छन्। निर्वाचन नजिकिँदै गर्दा रुपन्देही क्षेत्र नं. ३ मा राजनीतिक बहस चर्किँदै गएको र यस्तो अन्तरक्रियाले मतदाता र उम्मेदवारबीच प्रत्यक्ष संवाद र जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ।