भैरहवा । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ भैरहवामा सातौं लुम्बिनी महोत्सव–२०८२ उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन सुरु भएको छ ।
चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सुरू भएको महोत्सवको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय र सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले संयुक्त रुपमा उद्घाटन गरे ।
सो अवसरमा बोल्नुहुँदै मन्त्री पाण्डेयले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रले गरेको बताउदै यस्तो विषमपरिस्थतीमा पनि महोत्सव गरेकोमा धन्यवाद दिए । यस्तो कार्यक्रमको स्वामित्व सरकारले लिनु पर्ने ठाँउमा निजि क्षेत्रले लिदैछ यहाँहरूको साहाष मान्नु पर्छ । नेपाललाई पर्यटन क्षेत्रको माध्यमबाट नै आर्थिक समृद्धितर्फ लैजान सकिने बताए । हामीसँग बुद्ध छन, हामीसँग पानी छ, हामीसँग ढुंगा छ यस्तै सयौ ठाँउहरू छन तर सरकारले प्रचार समेत गर्न नसक्नु विडम्बना हो । मेला महोत्सवका बेला मात्रै स्थायी मण्डपका कुरा नगर्न आग्रह गर्दै स्थानीय सरकारले जग्गाको खोजी गरे प्रदेश सरकारले मण्डप निर्माणका लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले सिद्धार्थनगर, रोहिणी, ओमसतिया, मायादेवी र सियारी मिलेर उपमहानगरपालिका÷महानगरपालिका बनाउनुपर्ने बताए । उनले आर्थिक मन्दीको बेला पनि चेम्बर अफ कमर्श, रुपन्देहीले महोत्सवको आयोजना गर्ने हिम्मत गरेर अन्य उद्योगी–व्यवसायीलाई उर्जा प्रदान गरेको बताए । यस क्षेत्रको लागि केही भएपनि आर्थिक चलायमान होस भन्नका लागि निजि क्षेत्रले लाखौं लगानी महोत्सव गरेकोले सबैको सहयोग र सहकार्य हुनुपर्ने बताए ।
चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काल भैरहवामा स्थायी मण्डप अति आवश्यक रहेकोले स्थायी मण्डपको सुनिश्चत सरकारले गरेर महोत्सवलाई परिमार्जन र परिस्कृत तरिकाले अगाडि बढाउनु पर्ने आवश्यक रहेको बताए ।
वर्षेनी लाखौ रकम अस्थायी संरचनामा खर्च हुने हुदा यसलाई मात्रै कम गरे वर्षमा थुप्रै विशिष्टीकृत मेला गर्न सकिने बताए ।
मंसिर २१ गतेसम्म सञ्चालन हुने महोत्सवले उद्योगी–व्यवसायी र उपभोक्तालाई जोड्न पुलको काम गर्ने अध्यक्ष रोक्काले बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे, सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारी, नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी लगायतले बोल्दै स्थानीय बजार प्रवद्र्धनका लागि स्थानीय बजारमा नै खरिद गर्नुपर्ने, उद्योगी व्यवसायीको हितमा निति र नियम बन्नुपर्ने, निजी क्षेत्रको प्रोत्साहन सरकारले गर्नुपर्ने,स्थायी मण्डपका लागि प्रदेश सरकारको सक्रियता हुन जरुरी रहेको बताए ।
चेम्बर अफ कमर्श, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवको स्वागत, निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
महोत्सवको उद्घाटन समारोह अघि भैरहवाको देवकोटाचोकदेखि औद्योगिक जनचेतना ¥याली निकालिएको थियो । सातौं लुम्बिनी महोत्सवमा करिब १ करोड खर्च हुने महोत्सवको करिब १ लाख ५० हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएका छन् । त्यस्तै महोत्सवमा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको भनाइ छ ।