लुम्बिनी, माघ ११ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा कांग्रेस–एमाले गठबन्धनका तीन जना उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा महिला कोटातर्फ एमालेकी गुल्मी निवासी रामकुमारी झाक्री, अपाङ्ग/अल्पसंख्यक कोटातर्फ नेपाली कांग्रेसका दाङ निवासी बासुदेब घिमिरे र अन्य कोटातर्फ कांग्रेसकै गुल्मी निवासी चन्द्रबहादुर केसी निर्वाचित हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार झाक्रीले प्रदेशतर्फ ६ हजार ३०३ र स्थानीय तहतर्फ २ हजार ९६४ गरी कुल ९ हजार २६७ मतभार प्राप्त गर्नुभयो । घिमिरेले प्रदेशतर्फ ५ हजार ३२२ र स्थानीय तहतर्फ २ हजार ९८३ गरी ८ हजार ३०५ मतभार ल्याउनुभयो । केसीले प्रदेशतर्फ ५ हजार ९७७ र स्थानीय तहतर्फ २ हजार ८५० गरी कुल ८ हजार ८२७ मतभार प्राप्त गर्नुभयो ।
निर्वाचनमा विभिन्न दलका अन्य उम्मेदवारहरू पराजित भएका छन् । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा कुल २८६ मत खसेको थियो ।