उपसभामुखमा श्रम संस्कृति पार्टीकी ठाकुर निर्वाचित, प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य

खबर नागरिक

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ । बैठकमा भएको मतदानबाट २५ वर्षीया ठाकुर उपसभामुखमा निर्वाचित हुनुभएको हो । योसँगै नेपालको संसद्ले इतिहासकै कान्छी उपसभामुख पाएको छ ।

बैठकमा २५७ जना सांसद उपस्थित भएकोमा ठाकुरको पक्षमा २२९ मत खसेको सभामुख डीपी अर्यालले जानकारी दिनुभयो । यस्तै उहाँको विपक्षमा ५ र तटस्थ २२ मत खसेको छ । ठाकुरको पक्षमा रास्वपा, कांग्रेस, नेकपाका सांसदले पनि मत दिएका छन् ।

यस्तै उपसभामुखकी अर्का उम्मेदवार राप्रपाकी सरस्वती लामाको पक्षमा भने जम्मा ५ मत खसेको छ । लामालाई राप्रपाका सांसदले मात्रै मत दिएका हुन् । यस्तै उहाँको विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको छ । प्रतिनिधिसभाको सभामुख निर्विरोध निर्वाचित भए पनि उपसभामुखमा मतदान भएको हो ।

गएको १९ गतेदेखि शुरू भएको अधिवेशनमा ६ वटा बैठक बसी प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । यस बीचमा संसदले सभामुख, उपसभामुख चयनसँगै विषयगत समितिहरू गठन गरेको छ । यस्तै हिजो राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गरे । 

राष्ट्रपतिले पहिलो अधिवेशनलाई सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था र प्रधानमन्त्रीले पनि सामान्यतया बैठकलाई सम्बोधन गर्ने अभ्यास छ । तर, यस पटक प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा सम्बोधन गरेनन ।

प्रतिक्रिया