११ माघ, विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। प्रदेशको राजधानी विराटनगरस्थित मतदान केन्द्रमा बिहानदेखि मत खसाल्ने क्रम अगाडि बढेको हो।
फागुन २० गतेदेखि रिक्त हुन लागेका राष्ट्रिय सभाका १८ सदस्य पद पूर्तिका लागि आज देशभरका सातै प्रदेशमा एकैसाथ निर्वाचन भइरहेको छ। निर्वाचन कार्यक्रमअनुसार मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
१८ पदमध्ये कोशी प्रदेशमा खस आर्य समूहअन्तर्गतको एक पदमा उम्मेद्वार निर्विरोध चयन भइसकेको छ भने बाँकी १७ पदका लागि आज मतदान भइरहेको छ। कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेद्वार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका नगरप्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाताका रूपमा सहभागी हुने व्यवस्था रहेको छ।