कोटहीमाइमा एक वर्षमा ३ सय ५५ वटा योजना तथा कार्यक्रम पूरा

खबर नागरिक

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले एक वर्षको अवधिमा ३ सय ५५ वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको छ ।

पालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन गरेका विकास निर्माण, सामाजिक सेवा, प्रशासनिक सुधार तथा सुशासनसम्बन्धी गतिविधिहरूले प्रतिवेदन सार्वजनिक गरी एक वर्षको अवधिमा भएका ३ सय ७० वटा योजना मध्ये ३ सय ५५ वटा योजना तथा कार्यक्रम सम्पन्न भएका जनाएको छ । 

वडा स्तरबाट १ सय ४ वटा योजना तथा १ सय ६ वटा कार्यक्रम र पालिका स्तरबाट ४५ वटा योजना तथा १ सय वटा कार्यक्रम सम्पन्न भएका छन् भने बाँकी १५ वटा योजना सम्पन्न हुन नसकेको पालिकाले जानकारी दिएको छ । भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा, सूचना प्रविधि र आर्थिक प्रशासनसम्म फैलिएका कार्यक्रमहरूले पालिकाको समग्र विकास यात्राको रुपमा दस्तावेज बनाएको छ । 

पालिकामा आर्थिक वर्ष २०८१÷०८२ मा १४.२ किलोमिटर ग्राभेल सडक, ३.९५ किलोमिटर पीसीसी सडक र २.४५ किलोमिटर नाली निर्माण भएको छ । यससँगै २ सय २४ थान बोरिङ, २ सय ६० वटा ह्याण्डपम्प जडान, धार्मिक तथा शैक्षिक संरचनातर्फ १७ वटा मठमन्दिर मर्मत, ३७ वटा विद्यालय मर्मत तथा ३ सय ६३ मिटर कम्पाउण्ड वाल निर्माण भएको गाउँपालिका योजना शाखा प्रमुख फडेन्द्र प्रसाद बगालेले जानकारी दिए ।

पालिकामातहत रहेका ७ वटा वडा कार्यालय र ७ वटा स्वास्थ्य चौकीको भौतिक संरचना, १ आयुर्वेद औषधालय र पालिकाको पक्की भवनबाट ८९ जना कर्मचारीमार्फत विभिन्न सेवा प्रवाह भइरहेको छ । पालिकामा ३३ जना स्थायी, ५६ जना अस्थायी, करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेका छन् । 

रोजगार सेवा शाखाबाट प्रदान गरिएका सेवाबाट ३५ जनाले १ हजार ९ सय ६२ दिन रोजगारी पाएका छन् । कोटहीमाई रोजगार सेवा केन्द्रका संयोजक कृष्ण यादवका अनुसार पालिकाका विभिन्न वडामा ९ वटा आयोजना सम्पन्न भएका छन् । सोही शाखाबाट श्रम स्वीकृति, वैदेशिक रोजगार परामर्श सेवा, शव ढुवानी, उद्धार तथा खोजतलास, बिरामी तथा अंगभंग तथा क्षतिपूर्ति दिलाउने जस्ता सेवामार्फत ६५ जनालाई सेवा प्रदान गरिएको पालिकाले जनाएको छ ।

योग्यता पुगेका पालिकाभित्रका ३ हजार ९ सय ४७ जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ, सामाजिक सुरक्षा भत्ता प्रत्येक आर्थिक वर्षमा ४ किस्तामा ४ वटा बैंकमार्फत वितरण हुँदै आएको छ । यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले पालिकाभित्रका ३९ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । जसमध्ये १ जनालाई रातो कार्ड, १८ जनालाई निलो कार्ड, १ जनालाई पहेँलो कार्ड र १ जनालाई सेतो कार्ड वितरण गरिएको छ । 

कृषि शाखाबाट आर्थिक वर्ष २०८१÷०८२ मा फलफुल विरुवा वितरण, च्याउ खेती प्रबर्धनको लागि बीउ वितरण, हरियो मल प्रबर्धन, बेमौसमी तरकारी खेती किट वितरण, माटो सुधारको लागि पोषक तत्व वितरण, विषदी वितरण, रोग तथा किरा रोग नियन्त्रण तथा आर्गेनिक खेती कार्यक्रम सम्बन्धी विभिन्न कार्यक्रम संचालन गरिएको शाखाले जानकारी दिएको छ । 

एक वर्षमा पालिकाबाट ६८ लाख ४० हजार २ सय ४८ रुपैयाँ राजस्व सङ्कलन भएको राजस्व शाखा ले जानकारी दिएको छ । सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, नाता प्रमाणित, व्यवसाय कर, विद्युतसम्बन्धी कर, प्रशासनिक दण्ड जरिवाना तथा जफत, सम्पत्ति कर, घर बहाललगायत विभिन्न २२ शीर्षकबाट राजस्व सङ्कलन गरिएको हो । आर्थिक प्रशासन शाखाबाट ५ हजार ६९ व्यक्ति तथा संस्थालाई सेवा प्रदान गरिएको छ । 

आर्थिक वर्ष २०८१÷०८२ का लागि स्वीकृत ४८ करोड ५९ लाख २५ हजार रुपैयाँ बजेटमध्ये ४१ करोड २५ लाख ३५ हजार ९ सय २१ रुपैयाँ प्राप्त भएकोमा । चालु तर्फ २७ करोड ५८ लाख ७४ हजार ८ सय ३२ रुपैयाँ र पुँजीगत तर्फ ९ करोड ५५ लाख ९९ हजार ३ सय ७७ रुपैयाँ खर्च भएको छ । वडागत रूपमा प्रत्येक वडामा १ करोड १५ लाखका दरले विनियोजन गरिएको बजेटमध्ये वडा नं. १ ले ९६.०३, वडा नं. २ ले ८४.२४, वडा नं. ३ ले ९५.०९, वडा नं. ४ ले ९६.७३, वडा नं. ५ ले ८७.४०, वडा नं. ६ ले ९४.४३ र वडा नं. ७ ले ९५.१६ प्रतिशत बजेट खर्च गरेका छन् ।

यसैगरी आर्थिक विकास तर्फ विनियोजित २ करोड ५३ लाख ९ हजारबाट ६९.३७ प्रतिशत, सामाजिक विकास तर्फ विनियोजित २१ करोड ७० लाख १९ हजारबाट ७८.६४ प्रतिशत, पूर्वाधार विकास तर्फ विनियोजित ९ करोड ९४ लाख ८५ हजारबाट ६३.२० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ विनियोजित २ करोड २ लाख ६२ हजार ९ सय ९९ रुपैयाँबाट ६९.३९ प्रतिशत तथा कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ विनियोजित ११ करोड ४८ लाख ४९ हजारबाट ९२.५७ प्रतिशत बजेट खर्च भएको छ ।


प्रतिक्रिया