लेखजंग थापाले २९ वटा वडामा चुनावी एजेन्डा र समृद्धिको खाका पुर्‍याए

खबर नागरिक

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा यसपटक विकासको परम्परागत शैली कि आधुनिक रूपान्तरण भन्ने बहसले उचाइ लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार डा. लेखजंग थापाले अघि सारेका योजना र उनको निरन्तरको घरदैलोले यो बहसलाई थप तार्किक र आशावादी बनाएको छ।

गत फागुन ४ गतेदेखि सुरु भएको डा. थापाको चुनावी अभियान मंगलबार मायादेवी गाउँपालिका वडा नं. ८ तथा तिलोत्तमा नगरपालिका वडा नं. १४ र १५ मा पुगेको छ। यससँगै क्षेत्रका कुल ३६ वडाहरूमध्ये २९ वटा वडामा उनले आफ्नो चुनावी एजेन्डा र समृद्धिको खाका पुर्‍याइसकेका छन। 

उनी केवल मत माग्न बस्ती पसेका छैनन्, बरु यस क्षेत्रको भूगोल, सम्भावना र समस्याको नालीबेली बोकेर एउटा स्पष्ट ब्लुप्रिन्टका साथ मतदाताको आँगनमा उभिएका छन।

डा. थापाको योजनाको केन्द्रविन्दुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ। विमानस्थल छ तर जहाज छैनू भन्ने स्थानीयको गुनासोलाई चिर्न उनले यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने र भैरहवा भन्सारलाई एकीकृत जाँच चौकी आईसीपी मार्फत आधुनिक रेल(वे सञ्जालमा जोड्ने संकल्प अघि सारेका छन्। यो योजना सफल हुँदा रुपन्देही–३ दक्षिण एसियाकै एउटा प्रमुख व्यापारिक र पर्यटकीय हब बन्ने उनको दाबी छ ।

शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गर्न डा। थापा दृढ देखिन्छन्। हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र र प्रभावकारी स्वास्थ्य बीमाको ग्यारेन्टी गर्ने उनको बाचाले न्यून आय भएका नागरिकमा आशा जगाएको छ। सरकारी विद्यालयको साख फर्काउन उनले अघि सारेको नमुना विद्यालय को अवधारणा र विपन्न बालबालिकाको पहुँच विस्तारले शिक्षा क्षेत्रमा व्याप्त विभेद अन्त्य गर्ने लक्ष्य राखेको छ।

कृषि प्रधान क्षेत्र भएकाले उनले ुएक वडा एक उत्पादनु को नीति ल्याएका छन्। शीत भण्डारको निर्माण, मल र बीउबिजनको वैज्ञानिक वितरण, र आधुनिक सिँचाइ प्रणालीमार्फत किसानलाई आत्मनिर्भर बनाउने उनको सोच छ। त्यस्तै,फोहोरबाट मोहर निकाल्ने वातावरणमैत्री सहरको परिकल्पना र सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रूपमा स्तरोन्नति गर्ने योजनाले युवा पुस्तालाई निकै उत्साहित बनाएको छ।

विशेष आर्थिक क्षेत्रलाई पूर्ण क्षमतामा चलाएर स्थानीय स्तरमै पूर्ण रोजगारीु सिर्जना गर्ने र युवा पलायन रोक्ने उनको नीतिगत सुधारको योजना छ। भ्रष्टाचार र सरकारी ढिलासुस्तीप्रति शून्य सहनशीलता अपनाउँदै लाइन होइन, अनलाइनु बाट सेवा दिने रास्वपाको केन्द्रीय एजेन्डालाई उनले स्थानीय तहसम्मै कार्यान्वयन गर्ने अठोट व्यक्त गरेका छन।

बाँकी रहेका वडाहरूमा पनि आफ्नो भिजन पुर्‍याउने लक्ष्यका साथ अघि बढेका डा। थापाले कोरेको यो मार्गचित्रले आगामी एक दशकभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्‍याउने राष्ट्रिय लक्ष्यमा रुपन्देही–३ लाई मुख्य आधार स्तम्भका रूपमा उभ्याएको छ।

प्रतिक्रिया