भैरहवामा ११७औँ देवकोटा जयन्ती सम्पन्न, स्रष्टा सम्मान र कृति लोकार्पण कार्यक्रम सम्पन्न

खबर नागरिक

भैरहवा । सिद्धार्थ साहित्य परिषद्, भैरहवा–रूपन्देहीको आयोजनामा ११७औँ देवकोटा जयन्तीको अवसरमा स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम भैरहवामा भव्य रूपमा सम्पन्न गरिएको छ।

परिषद्का अध्यक्ष एवम् समालोचक डिल्लीराज भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख आतिथ्य संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख माननीय इस्तियाक अहमद खाँन रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि खाँनले साहित्यकार देवी न्यौपाने ‘धीर’को नवीन कृति ‘मोतीका दानाः सहस्र हाइकु सेन्र्यु सङ्ग्रह–२०८२’ लोकार्पण गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको समृद्धिमा योगदान पु¥याउने स्रष्टा र संस्थाहरूको सम्मान गर्न पाउँदा गर्व लागेको बताउनुभयो। उहाँले आगामी दिनमा नगर क्षेत्रमा क्रियाशील साहित्यकारहरूको उचित मूल्याङ्कन र सम्मानका लागि नगरपालिकाले विशेष ध्यान दिने प्रतिबद्धता पनि जनाउनुभयो।

परिषद्का अध्यक्ष भट्टराईले स्थानीय तहले साहित्यिक संस्थाप्रति सकारात्मक दृष्टिकोण राख्नु पर्ने आवश्यकता औंल्याउँदै साहित्य समाजको आत्मा भएको विचार व्यक्त गर्नुभयो।

सचिव लक्ष्मीप्रसाद अधिकारीको सञ्चालन र परिषद्का सदस्य देवी न्यौपाने ‘धीर’को स्वागतमा सम्पन्न कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी र व्यक्तित्वबारे सहसचिव कृष्णप्रसाद बस्यालले विस्तृत चर्चा गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न प्रतिष्ठित पुरस्कारहरू प्रदान गरिएका थिए। मीन पद्म गौचन स्मृति पुरस्कार–२०८१ बाट समाजसेवी भीम अधिकारीलाई नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। त्यसैगरी, केम गुरुङ स्मृति साहित्य पुरस्कार–२०८१ युवा साहित्यकार विजय पाण्डेलाई र जनक स्मृति सिद्धार्थ साहित्य पुरस्कार–२०८१ नारी स्रष्टा सीता ढुङ्गाना काफ्लेलाई संयुक्त रूपमा प्रदान गरिएको हो।

लोकार्पित कृति ‘मोतीका दाना’ का बारेमा टिप्पणी गर्दै साहित्यकार राजेशकुमार चौधरी ‘जिज्ञासु’ले यस संग्रहमा नेपाली समाजको यथार्थ चित्रण र व्यङ्ग्यात्मकता झल्किएको बताउनुभयो। परिषद्का सल्लाहकार एवम् समाजसेवी भरत पोखरेलले पुरस्कारप्राप्त स्रष्टाहरूको मूल्याङ्कन प्रक्रिया र तिनको योगदानबारे जानकारी गराउनुभयो।

कार्यक्रमको अन्त्यमा परिषद्का उपाध्यक्ष एवम् कवि विजय पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा परिषद्का पूर्वअध्यक्ष एवम् सल्लाहकार प्रा. डा. कपिलदेव लामिछाने, साहित्यकार वनमाली निराकार, समाजसेवी भीम अधिकारी, रमेश समर्थन, रुद्र ज्ञवाली, सरु ज्ञवालीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए।

विश्वप्रेम काफ्ले स्मृति साहित्य सदन, मिस्रौलिया, सिद्धार्थनगरमा सम्पन्न सो कार्यक्रममा नगरकी पूर्व उपप्रमुख उमा काफ्ले, साहित्यकार डा. शङ्कर नेपाल, डा. दामोदर ढकाल, विजय सागर, युवराज खनाल, हृदय लेकाली, सिर्जना खनाल, सनत श्रेष्ठलगायत आठ दर्जनभन्दा बढी साहित्यकार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया