भैरहवा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार मोजीव अलि मुसलमान ले घरदैलो अभियान सुरु गरेका छन्। यसअघि विभिन्न ठाउँमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई तीव्रता दिएका उनले सोमबारदेखि कार्यकर्तासहित घरदैलो अभियान सुरु गरेका हुन्।
उम्मेदवारी दर्तापछि मुसलमानले देशमा फैलिएको विसंगति, विकृति र भ्रष्टाचार अन्त्य गर्ने मुख्य उद्देश्यसहित आफू उम्मेदवार बनेको बताए। उनले उद्योगपति, युवा तथा ज्येष्ठ नागरिकहरूले भोगिरहेका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए। “नेपाली जनताले भोगेका समस्यालाई सकेसम्म कम गर्ने काममा केन्द्रित हुनेछु,” उनले भने।
उनले आफ्नो दलले अघि सारेको “राइट टु कोट” एजेन्डा अन्य दलभन्दा फरक रहेको दाबी गर्दै प्रतिबद्धताहरू कार्यान्वयनमा इमान्दार रहने बताए। सांसद निर्वाचित भए राष्ट्रिय सहमतिको आधारमा कानुन निर्माण गर्दै समग्र विकास र सुशासनमा जोड दिने उनको भनाइ छ।
मुसलमानले विगतदेखि उठाउँदै आएको सुशासन र भ्रष्टाचारमुक्त देशको मुद्दालाई अझ सशक्त रूपमा अघि बढाउने उल्लेख गरे। युवाहरूको पलायन रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना रहेको पनि उनले बताए। “नीति र नियत स्पष्ट भए नेपाल पनि अन्तर्राष्ट्रिय रूपमा उदाहरणीय देश बन्न सक्छ,” उनले भने।
त्यसैगरी, आफू निर्वाचित भए रूपन्देहीको दीर्घकालीन विकासमा प्राथमिकता दिने उनको प्रतिबद्धता छ। विशेष गरी “सेतो हात्ती” को संज्ञा पाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाई सञ्चालनमा ल्याउन सरकार, जनता र व्यवसायीको साझेदारीमा पहल गर्ने उनले बताए। विकासका योजनामा अवरोध आउन नदिने र स्थिर नेतृत्व दिने दाबी पनि उनले गरे।