राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता सम्बन्धमा परेको रिट निवेदनबारे सर्वोच्च अदालतले आज देखि सुनुवाइ गर्दै छ। यसका लागि आज सर्वोच्चका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलास तोकिएको छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो। आदेशमा हेर्न नमिल्ने गरी पेसी नतोक्न र बिचमा स्थगन पनि नगर्न भनिएको छ।
‘यसमा विपक्षीहरूको लिखित जवाफसमेत परिसकेको वा लिखित जवाफ पर्ने म्याद नाघिसकेको र प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु हेर्दा तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिँदा हेर्न नहुनेबाहेक गरी पेसी स्थगित नहुने गरी प्रस्तुत मुद्दामा मिति २०८२-१२-१ गते नै पूर्ण सुनुवाइका लागि पेशी तोकी नियमानुसार पेस गर्नू’, आदेशमा भनिएको छ।
सोबमोजिम सर्वोच्चले आज पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ताबारे परेको निवेदनमा सुनुवाइ थाल्ने भएको हो।
सहकारी ठगी मुद्दा खेपिरहेका लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि लागेको थियो। तर सरकारले यो मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्।
निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ।