भैरहवा । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि छनौट प्रतियोगिता सोमबार देखि हुदैछ । प्रदेशका ७ जिल्लाको सहभागितामा रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक खेलमैदानमा माघ १९ गते देखि २४ गते सम्म प्रतियोगिता हुन लागेको हो । प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता पहिलो पटक टाइटल स्पोन्सर राखेर हुन लागेको छ । प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाके र बर्दिया जिल्ला टिमको सहभागिता रहने छ ।
कार्यक्रम बारे आइतबार पत्रकार सम्मेलनगरी जानकारी गराउदै प्रदेश अध्यक्ष विनय राज भण्डारीले चैत्रमा हुने प्रधानमन्त्री कप प्रतियोगिताका लागि खेलको आधारमा खेलाडीहरु छनोट गरी प्रदेशको टिम निर्माण गर्नेछ । प्रायोजकहरुको साथ लिएर छनोट खेललाई थप व्यवस्थित बनाइएको बताउदै उनले कतिपय जिल्लाहरुलाई अझै समेट्न नसकिएको जनाउँदै क्यानबाट मान्यता दिलाउन पहल भइरहेको बताए ।
नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले विगतमा लुम्बिनी प्रदेश मुलुककै क्रिकेटमा अब्बल सावित रहे पनि पछिल्लो समय विभिन्न उपाधि जित्नबाट चुकिरहेको जनाए । उनले यसपटक राम्रो मैदानमा छनोट खेल हुन लागेको, प्रशिक्षण र सुविधा समेत राम्रो रहेकाले प्रधानमन्त्री कप जित्ने विश्वास व्यक्त गरे । मल्लले पछिल्लो समय प्रदेश क्रिकेट संघ समेत व्यवस्थित हुँदै गएकोमा खुशी व्यक्त गरे ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले पहिला फोनको आधारमा तय हुने टिम अहिले प्रक्रियागत रुपमा खेलको आधारमा जिल्लाको टिम छनोट गरेको र यसरी नै प्रदेशको टिम तय हुने अपेक्षा रहेको बताए । हरेक दिन संघले प्रतियोगितालाई थप व्यवस्थित गर्दै लागेकोले यसले राम्रा खेलाडीहरुले अवसर पाइराखेको र विवाद रहित बनाएको थापाले दावी गरे ।
प्रतियोगिताका टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्सका लुम्बिनी प्रदेश प्रबन्धक रामबहादुर क्षेत्रीले एक्स्ट्रिम हरेक खेल सँगसगै रहेको बताउदै सहकार्यमा हरेक खेलकुदलाई उकास्न कम्पनीले सहयोग गरिरहेको जनाए । उनले यसपटक पनि प्रधानमन्त्री कप लुम्बिनी प्रदेशमै आयोजना गर्न पहल गर्नुपर्नेमा जोड दिदै प्रचार प्रसारमा निरन्तर लाग्नुपर्ने बताए ।
प्रतियोगिताको प्लेयर अफ द सिरीजले नगद ११ हजार १ सय ११ र ट्रफी, खेलको म्यान अफ द म्याच नगद एक हजार एक सय र ट्रफी, विजेता र उपविजेता टोलीलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने प्रतियोगिताका संयोजक एवं संघका प्रदेश सदस्य प्रथम पराजुलीले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रयोजन एक्सट्रीम इनर्जी डिं«क्सले गरेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । यसपटक प्रतियोगितालाई एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रालि, काठमाडौंले प्रयोजन गरेका छन् । पत्रकार सम्मेलनमा जर्सी र ट्रफी समेत सार्वजनिक गरिएको थियो ।