भैरहवा । रुपन्देहीको बेलहिया नाकाबाट एक वर्षमा एक लाख तीन हजार ९५५ जना पर्यटक नेपाल आएका छन । अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीका अनुसार सन् २०२५ मा सो संख्यामा पर्यटक आएका छन भने सोही अवधिमा एक लाख दुई हजार ४५५ जना बेलहिया नाका हुँदै बाहिरीएका छन ।
स्थलमार्ग हुँदै बेलहिया नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकको संख्या बढेको छ । सन् २०२४ मा यो नाका हुँदै ९२ हजार ६४४ पर्यटक भित्रिएका थिए भने ९३ हजार २९० जना पर्यटक यहाँबाट गन्तव्यतर्फ प्रस्थान गरेका थिए । कार्यालय प्रमुख वासुराम पौडेलले २०२५ मा पर्यटकको आगमन साचेअनुरुप हुन नसके पनि विगतका वर्षभन्दा संख्या बढेको बताए ।
गत वर्षभन्दा १० हजार बढीले पर्यटकको आगमनको संख्या बढेको छे । सन् २०२५ मा यस नाकाबाट सबैभन्दा बढी श्रीलङ्काका ३४ हजार ३६६ पर्यटक नेपाल आएका छन् । त्यसपछि म्यानमारका १९ हजार ९६२, थाइल्यान्डका १९ हजार १९५, भियतनामका सात हजार ६४५, दक्षिण कोरियाका तीन हजार ८२ र संयुक्त राज्य अमेरिकाका दुई हजार १४९ जना छन ।
एक वर्षको दौरान सबैभन्दा बढी मार्च महिनामा २० हजार ७२० पर्यटक नेपाल आएका छन् । यस्तै, फ्रेअुबरीमा १७ हजार ८७१, नोभेम्बरमा १६ हजार ३०५, अक्टोबरमा ११ हजार ६९७ र डिसेम्बरमा १० हजार ७२० पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ । यो नाका हुँदै सन् २०१८ मा एक लाख ६६ हजार २३५, सन् २०१९ मा एक लाख ६१ हजार ६९१, सन् २०२० मा ४३ हजार ३६७, सन् २०२१ मा ८१२, सन् २०२२ मा २० हजार २२० र सन् २०२३ मा ८१ हजार ८०५ पर्यटक नेपाल आएका छन् । यो नेपालमा स्थलमार्गबाट देशमै धेरै पर्यटक भित्रिने नाकाका रूपमा रहेको छ ।
यस्तै बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने पर्यटक संख्यामा गिरावट आएको छ । २०२४ मा ११ लाख ७२ हजार २८२ पर्यटक आएकोमा २०२५ मा ११ लाख १४ हजार २६६ पर्यटकले लुम्बिनी घुमेका छन् । लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०२४ मा भन्दा २०२५ मा लुम्बिनी भ्रमण गर्ने पर्यटक संख्या ५८ हजार १६ जानाले कमी छ ।
कोषका अनुसार यो तथ्यांक नेपाली, भारतीय र तेस्रो मुलुकका सहितको हो । कोषका अनुसार लुम्बिनी घुम्न आउने नेपाली र भारतीय पर्यटक घट्दा तेस्रो मुलुकका भने बढेका छन् ।
कोषका सूचना अधिकारी हरिध्वज राईका अनुसार सन् २०२४ मा भने नेपाली ७ लाख ५९ हजार ९९०, भारतीय ३ लाख ८८९ र तेस्रो मुलुकका १ लाख ११ हजार ४०३ पर्यटक लुम्बिनी आएका थिए ।
राईले नेपाली र भारतीय पर्यटक आगमन घटिरहँदा करिब ३० हजार तेस्रो मुलुकका पर्यटक थपिएको जनाए । ‘यस वृद्धिले स्वदेशी तथा भारतीय पर्यटक घट्दाको असरलाई केही हदसम्म सन्तुलनमा ल्याएको छ र लुम्बिनीप्रति अन्तर्राष्ट्रिय तीर्थयात्री तथा सांस्कृतिक पर्यटकहरुको आकर्षण बढ्दै गएको पुष्टि गर्छ’, उनले भने ।
कोषका अनुसार श्रीलंकाबाट सबैभन्दा बढी ३२ हजार २८७ पर्यटक लुम्बिनी आएका छन् । यस्तै, थाइल्याण्डबाट १९ हजार ८९१, म्यान्मारबाट १८ हजार ५२८ र चीनका १० हजार ७८९ पर्यटकले लुम्बिनी घुमेका छन् । यसैगरी भियतनामका ८ हजार ६१५, दक्षिण कोरियाका ३ हजार ८९५ र जर्मनीका २ हजार ३७८ पर्यटक आएका छन् ।