प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीहरूलाई निर्वाचन सुरक्षाको पूर्वतयारीका लागि भन्दै विभिन्न प्रदेशमा परिचालन गरेको छ । विशेषगरी तीन जना एआईजीहरू डा. मनोज केसी गण्डकी प्रदेश, हिमालय श्रेष्ठ सुदूरपश्चिम प्रदेश र डम्बर विक मधेश प्रदेशमा पुगेर अनुगमन गरिरहेका छन् ।
एआईजी केसीले गण्डकी प्रदेश प्रहरी प्रमुखसँगै कास्कीका प्रहरी प्रमुखसम्मलाई निर्वाचन सुरक्षाको पूर्व तयारीका बारेमा सोधीखोजी गरेका छन् । गण्डकीमा कास्की, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, नवलपरासी पूर्व, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत र लमजुङ गरी ११ जिल्ला छन् । यी ११ जिल्लामा प्रत्यक्षतर्फ १८ सीटमा चुनाव हुँदैछ । एआईजी केसीसँगै प्रदेशका डीआईजी दिपेन्द्र जिसी मातहत कार्यालय देखाउँदै अनुगमनमा निस्किएका छन् ।
अर्का एआइजी हिमालय श्रेष्ठ भने सुदूरपश्चिम प्रदेशमा पुगेका छन् । उनले धनगढीस्थित प्रदेश प्रहरी कार्यालयसँगै तालिम केन्द्रमा पुगेर निरीक्षण र निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङ जिल्ला पर्छन् । यी जिल्लामा प्रत्यक्षतर्फ १६ सीटमा चुनाव हुँदैछ । श्रेष्ठले डोटी र बझाङ पुगेर त्यहाँको शान्तिसुरक्षाको अवस्थाका बारेमा जानकारी लिएका छन् ।
एआईजी डम्बर विक मधेश प्रदेश प्रहरी कार्यालयमा खटिएका छन् । उनी बुधबारै प्रदेश राजधानी जनकपुर पुगेर निरीक्षण र निर्देशन दिएका छन् ।
उनले जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण गरिसकेका छन् । मधेश प्रदेशका ८ वटै जिल्लाहरू क्रमशः पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा पुगेर विकले त्यहाँको सुरक्षा अवस्था, चुनावमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीका बारेमा ब्रिफिङ लिनेछन् ।
निर्वाचन आयोगले मधेश प्रदेशका ८ वटै जिल्लाका मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखेको छ । खुला सीमा भएकाले त्यहाँ निर्वाचनका बेला हुनसक्ने घुसपैठ, निर्वाचन बिथोल्न सक्ने अवाञ्छित गतिविधि लगायतका बारेमा विकले जानकारी लिनेछन् । उक्त प्रदेश मातहतका जिल्लामा प्रहरीलाई अपुग स्रोत साधनका बारेमा समेत विकले जानकारी लिनेछन् ।
त्यसो त प्रहरी महानिरीक्षक दानबहादुर कार्की आफैं लुम्बिनी प्रदेशको निरीक्षण गरेका छन् । उनले प्रदेश प्रहरी कार्यालय दाङसँगै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर पुगेर त्यहाँको सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार प्रदेशमा खटिएका एआईजीहरूले मतदान केन्द्रको निरीक्षण गर्नेछन् । उनका अनुसार देशभर निर्वाचनमा ७४ हजार चार सय २३ प्रहरी खटिने छन् ।
एआईजीहरूले जिल्ला-जिल्ला पुगेर पाएका सूचनालाई प्रहरी मुख्यालयमा राख्ने र त्यसअनुसार सुरक्षा योजना थप सुदृढ पार्ने तयारी छ । केन्द्रदेखि प्रहरीका उच्च अधिकृतहरू जिल्ला पुगेर आवश्यक रणनीति बनाउने र निर्देशन दिने गरेपछि फिल्डमा खटिने प्रहरीको मनोबल उच्च भइरहेको सुरक्षा अधिकारीहरू बताउँछन् ।