भैरहवा । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा आगामी फागुन ३० गते शनिबार मेगा केमिकल्स इण्डष्ट्रिज १७ औं लियो सुपर सिक्स क्रिकेट टुर्नामेन्ट हुने भएको छ। विगत १६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस प्रतियोगिताको बारेमा क्लबले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।
विशेष गरी कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थाहरुबीच आपसी भाइचारा स्थापित गर्ने र सामाजिक क्रियाकलापका लागि कोष संकलन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष विमल गौतमले बताए प्रतियोगिताबाट बचेको रकम सामाजिक कार्यमा खर्च गरिने उनको भनाइ छ।
यस वर्ष प्रतियोगितामा ८ वटा टोलीहरुले सहभागिता जनाउने छन । कार्यक्रम संयोजक ज्ञान प्रकाश जैसवालका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। यसका साथै व्यक्तिगत विधा तर्फ प्लेयर अफ द म्याच र सिरिज, बेस्ट ब्याटर, बलर र फिल्डर अवार्ड, बेस्ट डिसिप्लीन र फस्ट रजिष्ट्रेसन टीम अवार्ड प्रदान गरिनेछ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बिहान ८ बजेदेखि सुरु हुने यो प्रतियोगिता एकै दिनमा समापन हुने छ। रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा हुने यस प्रतियोगिताको मुख्य प्रायोजक मेगा केमिकल इण्डष्ट्रिज र सह–प्रायोजक युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज रहेका छन्।