भैरहवा । विद्युतीय दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल विद्युत प्राधिकरण, भैरहवा वितरण केन्द्रले आज विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विद्युतीय सुरक्षा दिवस मनाएको छ।
दिवसको अवसरमा प्रभातफेरी, प्रशिक्षण तथा सामूहिक सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो।
“विद्युतीय दुर्घटनाबाट बचौँ र बचाऔँ” भन्ने मूलका साथ कार्यालयबाट सुरु भएको प्रभातफेरी बुद्धचोक हुँदै लुम्बिनी परिसर परिक्रमा गरी पुनः कार्यालयमा पुगेर सम्पन्न भएको थियो।
कार्यक्रममा कर्मचारी, उपभोक्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सहभागीहरूले सचेतनामूलक नारासहित विद्युतीय सुरक्षाबारे सन्देश प्रवाह गरेका थिए।
कार्यक्रमबारे बोल्दै कार्यालय प्रमुख सुरज रेग्मीले विगत ६–७ वर्षदेखि हरेक वर्ष चैत २६ गते सुरक्षा दिवस मनाउँदै आएको जानकारी दिए। उनले सचेतनाको अभाव र सानो हेलचेक्र्याइँका कारण विद्युतीय दुर्घटना हुने गरेको उल्लेख गर्दै हरेक वर्ष करिब ८०० देखि १००० जना प्रभावित हुने बताए।
विद्युत अदृश्य र संवेदनशील हुने भएकाले यसप्रति विशेष सावधानी आवश्यक रहेको उनको भनाइ थियो। कार्यक्रममा “सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्ने साँचो” लगायतका सन्देशहरू प्रवाह गरिएका थिए।
प्राधिकरणले यस्ता कार्यक्रमले जनचेतना बढाई दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।