रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर सुरज पाण्डेले आफ्नो राजनीति भाषणमा मात्र सीमित नभई जनताको सामाजिक–आर्थिक स्तर उकास्ने ठोस योजनामा केन्द्रित रहेको बताएका छन । उनले आफू ठूला कुरा गर्ने भन्दा पनि नतिजामुखी काम गरेर प्रभाव छोड्न इच्छुक रहेको स्पष्ट पारेका छन ।
आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले भने, “मेरो राजनीति गर्ने तरिका भनेको सोसियो–इकोनोमिक उत्थानमा प्रभाव पार्न सक्छु कि सक्दिन भन्ने नै हो । त्यसका लागि रुपन्देही–२ मा उपलब्ध स्रोतहरूको उच्चतम परिचालन गर्ने र आवश्यकता अनुसार ऐन तथा नीति निर्माणमा परिमार्जन, थपघट वा खारेजीका लागि पहल गर्ने मेरो मुख्य एजेन्डा हो।’’
उनले रुपन्देही–२ को भौगोलिक र आर्थिक सम्भावनाबारे चर्चा गर्दै उनले बुटवल, सैनामैना र तिलोत्तमाका केही वडाहरू समेटिएको यस क्षेत्रलाई विकासको नमुना बनाउने खाका प्रस्तुत गर्दै तिलोत्तमा कोरिडोर क्षेत्रलाई मेडिकल हब को रूपमा विकास गर्ने, सैनामैना कोरिडोरलाई कृषि–पर्यटन को केन्द्र बनाउने र विशेषगरी सैनामैनामा सुरु भएको विश्वप्रसिद्ध ’अल्फान्सो’ आँपको व्यावसायिक खेतीलाई उनले उदाहरणका रूपमा प्रस्तुत गरे । हाल दैनिक २०० देखि ४०० पर्यटकले अवलोकन गरिरहेको उक्त क्षेत्रलाई थप व्यवस्थित बनाउन ’एक्स्ट्रा इनपुट’ को आवश्यकता रहेको उनले औंल्याए ।
यस्तै कृषिको आधुनिकीकरण र ऊर्जा सुरक्षाका लागि ‘कालीगण्डकी मल्टी–पर्पोज डाइभर्सन क्यानल प्रोजेक्ट’ लाई उनले गेम चेन्जर योजनाका रूपमा अघि सारेका छन । “यस आयोजनामार्फत कपिलवस्तुको गुरुसिङ्गेसम्म सिँचाइ सुविधा पु¥याउने र सँगसँगै जलविद्युत उत्पादन गर्ने हाम्रो लक्ष्य छ,“ उनले थपे ।
उपलब्ध स्रोत र साधनको सही व्यवस्थापनबाट मात्रै रुपन्देहीको कायापलट सम्भव रहेको भन्दै उनले अबको राजनीति विकास र नीतिगत स्पष्टतामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन ।