रुपन्देहीको भैरहवामा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सर्वसाधारणबीच दिनप्रतिदिन झनै लोकप्रिय बन्दै गएको छ। मंसिर ३ गतेदेखि सिद्धार्थनगर–८, अञ्चलपुरमा सुरु भएको महोत्सवमा आइतबारसम्म हजारौं दर्शकले अवलोकन गरिसकेका छन्।
आयोजकका अनुसार मंसिर १३ गते शनिबार मात्रै ३५ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए भने आइतबार पनि करिब १० हजारको उपस्थिति रहेको थियो। दर्शकको बढ्दो भीडसँगै बालउद्यान, ‘जलपरी’ फिस टनेल, र विविध नयाँ आकर्षणहरूले महोत्सवलाई अझ धेरै रंगिन बनाइरहेको छ। विशेषगरी नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिस टनेलले दर्शकको ध्यान खिचिरहेको आयोजकले जनाएको छ।
बालमैत्री संरचना, मनोज्ञ मनोरञ्जनात्मक कार्यक्रम तथा स्थानीयदेखि राष्ट्रिय कलाकारका प्रस्तुतीहरूले महोत्सवको वातावरण झनै जीवन्त बनेको छ। आइतबारदेखि सुरु भएको कुस्ती प्रतियोगिताले दर्शकको आवागमन थप बढाएको आयोजक टिमको भनाइ छ।
महोत्सव परिसरको सरसफाइ, व्यवस्थापन र समग्र अनुशासनप्रति दर्शकले उच्च प्रशंसा व्यक्त गरेका छन्। मेलाभरि बिछ्याइएको हरियो कार्पेट र सफाइयुक्त वातावरणका कारण महोत्सव व्यवस्थित र आकर्षक देखिएको सहभागीहरूको प्रतिक्रिया छ।
आयोजक र पदाधिकारीहरूको प्रतिक्रिया
चेम्बर अफ कमर्श, रुपन्देहीका पूर्वअध्यक्ष दर्पण श्रेष्ठले यो वर्षको महोत्सव विगतका वर्षभन्दा निकै फरक र दर्शकको रोजाइमा परेको बताए। उनले महोत्सवको अवधीभर थप प्रभावकारी र व्यवस्थित रुपमा अघि बढाउन आयोजक टिम पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गरे।
महासचिव लक्ष्मी अधिकारीका अनुसार महोत्सवले अपेक्षा गरिएभन्दा धेरै दर्शकको माया पाएको छ। “दर्शकको उत्साह असाधारण छ, यसले आयोजकलाई अझ उर्जा दिएको छ,” अधिकारीको भनाइ छ।
यस्तै, संस्थाका सचिव कृष्णप्रसाद पाण्डेले मेलाको सम्पूर्ण अवधिभर दर्शकलाई फरक–फरक मनोरञ्जन, कलाकारका प्रस्तुती र विविध सांस्कृतिक कार्यक्रम प्रदान गर्दै महोत्सवलाई अझ आकर्षक बनाइने बताए।
महोत्सवको व्यापारिक गतिविधि र लक्ष्य
उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काका अनुसार ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नारासहित सुरु गरिएको महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुनेछ। उद्योगी–व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध मजबुत बनाउन महोत्सवले प्रभावकारी भूमिका खेल्ने रोक्काको विश्वास छ।
यस वर्ष महोत्सवमा ३ सय स्टल सञ्चालनमा छन्। संस्थाका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमिति संयोजक धिरजकुमार मल्लिकका अनुसार शनिबारसम्मै करीब १ करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ। महोत्सव अवधिभर करिब ५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।
सातौं लुम्बिनी महोत्सव सञ्चालनमा करिब १ करोड रुपैयाँ खर्च हुने र करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको महासचिव लक्ष्मी अधिकारीले जानकारी दिएकी छिन्।
समग्रमा, उत्कृष्ट व्यवस्थापन, नयाँ आकर्षण, सांस्कृतिक विविधता र दर्शकको अत्यधिक सहभागिताले महोत्सव नयाँ उचाइतर्फ अघि बढिरहेको आयोजकको निष्कर्ष छ।