भैरहवामा पवनकुमार सेठिया स्मृति क्रिकेट सम्पन्न

खबर नागरिक

भैरहवा, माघ ०१ । रुपन्देही–११ ले त्रिभुवन आर्मी क्लब ‘ए’ लाई ३ विकेटले पराजित गर्दै ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गतको टी–ट्वान्टी सिरिज क्लिनस्वीप गरेको छ। रुपन्देही क्रिकेट संघको आयोजनामा बिहीबार सम्पन्न अन्तिम खेल जित्दै घरेलु टोलीले सिरिज आफ्नो नाममा लेखाएको हो।

यसअघि पनि रुपन्देही–११ ले आर्मीविरुद्ध दुईदिवसीय टेष्ट र एकदिवसीय सिरिज क्लिनस्वीप गरिसकेको थियो। भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको अन्तिम टी–ट्वान्टी खेलमा टस जितेर ब्याटिङ गरेको आर्मी क्लब ‘ए’ १९ ओभर ४ बलमै अलआउट हुँदै ११९ रनमै सीमित भयो। आर्मीका लागि जितेन्द्रसिंह ठकुरीले सर्वाधिक ३९ रन जोडे भने पवन कार्कीले १७ रन बनाए।

रुपन्देहीका बलरहरू प्रभावशाली देखिए। रमेश कुर्मी, तुलबहादुर थापा, निश्चल ज्ञवाली र अजयकुमार चौहानले समान २–२ विकेट लिए भने देव खनालले १ विकेट झारे।

१२० रनको लक्ष्य पछ्याएको रुपन्देही–११ ले १७ ओभरमा ७ विकेट गुमाउँदै १२५ रन बनाएर सहज जित हात पार्‍यो। जितमा प्रज्वल थापाले ५४ रनको शानदार अर्धशतकीय पारी खेले। तुलबहादुर थापाले १६ र देव खनालले ११ रनको योगदान दिए। आर्मीका जितेन्द्रसिंह ठकुरीले ३ विकेट लिए भने प्रेम गुरुङले २ र पवन कार्कीले १ विकेट लिए।

उत्कृष्ट प्रदर्शनका आधारमा आर्मीका जितेन्द्रसिंह ठकुरी टी–ट्वान्टी खेलका प्लेयर अफ द म्याच तथा म्यान अफ द सिरिज घोषित भए। उनले दुबैतर्फबाट जनही ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। एकदिवसीय सिरिजतर्फ भने रुपन्देहीका कृष्ण कार्की म्यान अफ द सिरिज बने र पाँच हजार रुपैयाँ प्राप्त गरे।

टेष्ट, एकदिवसीय र टी–ट्वान्टी तीनै फर्म्याटको विजेता बनेको रुपन्देही–११ ले ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो। विजेता टोलीलाई रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, मुख्य प्रायोजक हरिष सेठिया र सुनिल सेठिया लगायतले पुरस्कार प्रदान गरे।

नेपालमै पहिलोपटक दुई टोलीबीच तीन फरक फर्म्याटमा सिरिज आयोजना गरिएको यो प्रतियोगिता ऐतिहासिक बनेको आयोजकले जनाएको छ।


प्रतिक्रिया