फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा चर्चामा रहेको रुपन्देही–२ नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दल मुख्य प्रतिस्पर्धी मान्न सकिन्छ। यहाँ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका उम्मेदवार भएका कारण पनि चर्चामा छ ।
२०७९ को आम निर्वाचनमा रुपन्देही-२ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी भएका थिए । पौडेलले २७ हजार १६५ मत प्राप्त गरेर विजयी भएका थिए । दोस्रो भएका स्वतन्त्र उम्मेदवारले यस क्षेत्रमा २५ हजार ७९५ मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा मगरले २२ हजार २७ मत प्राप्त गरेका थिए ।
यहाँ २०७९ को चुनावमा समानुपातिकतर्फ देशभर बलियो संगठन भएको एमालेलाई पछि पारेर रास्वपा पहिलो दल बनेको थियो। उसले २५ हजार ६७३ मत ल्यायो। एमाले २१ हजार १८३ मत पाएर दोस्रोमा झरेको थियो। एमालेले भन्दा रास्वपाले ४ हजार ४९० बढी मत समानुपातिमा ल्यायो। त्यस्तै तत्कालीन माओवादी केन्द्रले ३ हजार ४२९ मत पाएको थियो ।
यस निर्वाचनमा रुपन्देही-२ मा दल र स्वतन्त्र गरी कुल ३९ उम्मेदवार रहेका छन् । जस अनुसार एमालेबाट उपाध्यक्ष विष्णु पौडेल पुनः उम्मेदवार बनेका छन् । उनी सुरुमा पाल्पाबाट उम्मेदवार बन्ने निर्णय भए पनि कार्यकर्ताको विरोध र आलोचना पछि पुनः रुपन्देही फर्किएका थिए । गत निर्वाचनमा १३७० मत अन्तरले जितेका पौडेलले यस पटक चुनावमा अफ्ठेरो हुनसक्ने डरले नै पाल्पा जान खोजेको विश्लेषण धेरैले गरेका थिए ।
यस पटक नेपाली काँग्रेसले उद्योगपति चुन्न प्रसाद पौडेललाई यस क्षेत्रबाट उम्मेदवार बनाएको छ । पौडेल रुपन्देहीका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी समेत हुन। पौडेलको रुपन्देहीमा उद्योग तथा स्वास्थ्य क्षेत्रमा ठुलो लगानी रहेको छ । त्यस्तै ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिवक्ता सुलभ खरेल उम्मेदवार बनेका छन् । खरेल रबि लामिछानेको मुद्दामा बहस गदै आएका वकिल समेत हुन ।
त्यस्तै नेकपाबाट विश्वदीप पाण्डे उम्मेदवार बनेका छन् । विगतमा उनी प्रचण्डको तत्कालीन माओवादी छाडेर बाबुराम भट्टराईको पार्टीमा रहेका थिए । अहिले पुनः प्रचण्डसँगै फर्किएर नेकपाको उम्मेदवार छन्।
त्यस्तै अघिल्लो चुनावमा तेस्रो स्थानमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा मगर यस पटक पनि उम्मेदवार छन्। यसै गरी यस क्षेत्रबाट डा। निकोलस भुसाल पनि उम्मेदवार रहेका छन् । नेपाल जनसेवा पार्टीबाट सेतो र कालो रङको जुत्ता चुनाव चिन्ह लिएर भुसाल उम्मेदवार बनेका हुन् ।
अहिलेसम्मको चुनावी वातावरण हेर्दा यस क्षेत्रमा एमाले, काँग्रेस र रास्वपाबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । तिनै दलका उम्मेदवारको आ-आफ्नै राम्रो पक्ष रहेकाले कसले बाजी मार्छ भन्ने अवस्था रहेको देखिँदैन । समग्रमा यो चुनाव यस क्षेत्रमा विष्णु पौडेलले आफ्नो मत जोगाउने र काँग्रेस-रास्वपाले यस क्षेत्रमा आफ्नो झन्डा गाड्ने सङ्घर्ष हुने देखिएको छ ।
रुपन्देही क्षेत्र नम्बर २ मा सैन मैना नगरपालिकाको १ देखि ४ नम्बर वडा, तिलोत्तमा नगरपालिकाको १ देखि ६ नम्बर वडा र बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडासम्म समेटिएको छ । निर्वाचन आयोगका अनुसार रुपन्देही-२ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको सङ्ख्या एक लाख ३५ हजार ५० जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १३८ मतदान केन्द्र तोकिएको छ ।