वर्तमान सरकार एकातिर निर्वाचनको हल्ला गर्ने र अर्कोतिर निर्वाचन बिथोल्ने काम गरेकाे छः ओली

खबर नागरिक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजीसँग गरेको सम्झौताले देशलाई गम्भीर भिडन्ततर्फ लाने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार एकातिर निर्वाचनको हल्ला गर्ने र अर्कोतिर निर्वाचन बिथोल्ने काम गरिरहेको बताए । ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरे । अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताउदै उनले एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने सङ्कल्पमा अग्रसर रहने जनाउँदै सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको उल्लेख गरे । “लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ ।

सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ”, अध्यक्ष ओलीले भने, “कम्युनिष्ट पार्टी जति बलियो भयो, त्यति नै राष्ट्रियता बलियो हुन्छ । एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुआती अभियन्ता पार्टी हो । नागरिकले जीवनको आधार यही शक्ति हो ।”

एमाले समावेशिताको अगुवा भएको बताउँदै उहाँले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए । एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उहाँले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए ।

महाधिवेशनको विशाल उपस्थितिलाई बेवास्ता नगर्न स्मरण गराउँदै उहाँले विघटित संसद् पुनः स्थापना हुनेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष ओलीले बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घुसपैठका कारण राज्य र राज्यका संरचनालाई कमजोर बनाइए पनि शान्तिपूर्ण र न्यायपूर्ण बलको जगमा लोकतन्त्रलाई फर्काइने अध्यक्ष ओलीको भनाइ थियो । उनले अहिलेको सरकार निर्वाचनको वातावरण बनाउनभन्दा पूर्वाग्रह र संविधानविपरीतका काममा लागेको आरोप पनि लगाए ।

‘एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने । सरकार जेनजी सम्झौताजस्ता नाटकमञ्चन गरेर, यो विल्कुल नाटक हो, अनधिकृत हर्कत हो,’ ओलीले थप भने, ‘यो देशलाई भिडन्ततर्फ गम्भीर षड्यन्त्र हो । र यस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण गर्ने अनेक प्रपञ्चको यो सरकार जालो बुनिरहेको छ ।’

प्रतिक्रिया