भ्याट विवरण नबुझाउनेलाई आज अन्तिम अवसर, भोलिदेखि कडा कारबाही

खबर नागरिक

भैरहवा, पुस ३० । भ्याट विवरण तथा कर रकम लामो समयदेखि नबुझाएका करदाताका लागि आज पुस ३० अन्तिम दिन रहेको आन्तरिक राजस्व कार्यालय भैरहवाले जनाएको छ। कार्यालयले पुस मसान्तभित्र बाँकी भ्याट विवरण पेश गरी कर चुक्ता गर्न करदातालाई अन्तिम पटक आग्रह गरेको हो। आर्थिक ऐन, २०८२ अनुसार भ्याटमा दर्ता भएर पनि विवरण नबुझाएका करदाताले तोकिएको म्यादभित्र सबै विवरण पेश गरी कर तिरेमा ७५ प्रतिशतसम्म ब्याज, जरिवाना तथा थप दस्तुर मिनाहा हुने व्यवस्था गरिएको छ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलका अनुसार बक्यौता असुलीलाई प्रभावकारी बनाउन सूचना, फोन तथा सन्देशमार्फत करदातालाई जानकारी गराइएको छ। साथै, लामो समयदेखि विवरण नबुझाउने नन–फाइलर करदाताको नामावली तयार गरी स्थानीय तहसँग समन्वय गरिएको छ। आजको समयसीमा नाघेपछि कानुनअनुसार कडा कारबाही, जरिवाना र ब्याजसहित राजस्व असुली प्रक्रिया अघि बढाइने चेतावनी कार्यालयले दिएको छ।


प्रतिक्रिया