नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले आजदेखि निर्वाचन सुरक्षाका लागि आफ्नो जनशक्ति परिचालन गरेको छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभर ७९ हजार सैनिक जनशक्ति निर्वाचन सुरक्षाका निम्ति परिचालित भएको छ । त्यसअन्तर्गत आजैदेखि देशभरिका विमानस्थल तथा कारागार कार्यालयको सुरक्षा व्यवस्थापन सेनाले गर्ने भएको छ । त्यहाँ नियमित रुपमा तैनाथ हुने नेपाल प्रहरी र सशस्त्रका विशेष किसिमका ड्युटी जारी रहने र बाँकी सबै सुरक्षा व्यवस्थापन सेनाले गर्ने उनले बताए ।
सुरक्षा कार्ययोजनामा ७७ वटै जिल्ला, १६५ निर्वाचन क्षेत्र र ७ सय ५३ पालिकालाई केन्द्रमा राखेर निर्वाचन सुरक्षामा सेना खटाउने उल्लेख छ । स्थायी संरचना भएका ठाउँमा त्यहींबाट र नभएका स्थानमा अस्थायी बेस बनाएर परिचालनको व्यवस्था मिलाइएको छ ।
देशभरिका प्रमुख सडकमा सेनाले आजैबाट गस्ती शुरु गरेको छ । प्रवक्ता बस्नेतका अनुसार विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरेर पैदल गस्ती शुरु गरिएको हो । मतदान केन्द्र र गणनास्थलको सुरक्षाका लागि केही समयपछि मात्रै सेना परिचालित हुने उनले बताए । ती स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी क्रमशः पहिलो र दोस्रो घेरामा तैनाथ हुन्छन् । त्यसपछि मात्रै सेनाले सुरक्षा भूमिका निर्वाह गर्दछ ।
मंसिर ८ गते मन्त्रिपरिषद् बैठकले निर्वाचनलक्षित सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि सेना परिचालन गरिएको प्रवक्ता बस्नेतले बताए ।
निर्वाचनमा सुरक्षा निकायलाई लामो, मध्यम र छोटो दूरीमा पैदल गस्तीका अलवा सवारी गस्ती तथा सादा पोसाकमा परिचालन गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा जोखिमलाई आधार मानेर सुरक्षाकर्मीको तैनाथ गरिने गृह मन्त्रालयले जनाएको छ । २१ फागुनको निर्वाचनका लागि ११ हजार ९ सय १ मतदान स्थल तोकिएकामा एकतिहाइलाई सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील मानिएको छ ।
गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षामा सेनाबाट करिब ८० हजार, नेपाल प्रहरीबाट करिब ७१ हजार, सशस्त्र प्रहरीबाट करिब ३५ हजार, राष्ट्रिय अनुसन्धान विभागबाट करिब २ हजार जनशक्ति परिचालन गरिँदै छ । ४० दिन कार्यअवधि तोकेर १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी छनोट गरिएको छ । आधारभूत तालिम लिइरहेका उनीहरूमध्ये १ लाख ३३ हजार ९ सय ८० जना नेपाल प्रहरीमार्फत र १५ हजार १ सय १० जना सशस्त्र प्रहरी मातहत परिचालन हुनेछन् । निर्वाचन प्रहरीलाई दुवै सुरक्षा निकायले अर्को सातादेखि फिल्डमा लैजानेछन् ।
निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन भन्दै मंगलबार गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग ‘भर्चुअल’ बैठक राखी निर्वाचन सुरक्षा कार्ययोजनाअनुसार काम गर्न निर्देशन दिएका छन् ।
निर्वाचन सुरक्षा कार्ययोजनाअनुसार गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समिति, गृह सचिव नेतृत्वको केन्द्रीय निर्वाचन कमान्ड पोस्ट, गृहकै सहसचिव नेतृत्वको चारवटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित सहजीकरण समिति, सातवटै प्रदेशमा प्रदेश सरकारका प्रमुख सचिव नेतृत्वको प्रादेशिक सुरक्षा कमान्ड पोस्ट, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिबाट तहगत समन्वय र कार्यान्वयन गरिनेछ ।
सुरक्षा व्यवस्थापन र समन्वय गर्न सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका हेडक्वार्टरदेखि जिल्ला तहसम्म आआफ्नै निर्वाचन सेलसम्म तहगत व्यवस्थापन र तैनाथीको प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।
आसन्न निर्वाचनमा समानुपातिकतर्फ ११० सिटका लागि ३ हजार १ सय ३७ र प्रत्यक्षतर्फ १६५ सिटका लागि ३ हजार ४ सय ६ जना उम्मेदवार मैदानमा छन् । निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जनालाई मताधिकार छ ।