बुद्ध जन्मस्थलमा पर्यटक सूचना केन्द्र स्थापना

खबर नागरिक

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक सूचना केन्द्र सञ्चालनमा आएको छ । निर्माण भएपनि लामो समयदेखि सञ्चालन हुन नसकेको पर्यटक सूचना केन्द्रको आईतबार उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । 

लुम्बिनी सांस्कृतिक नगरपालिका, पर्यटन बोर्ड, युएनडीपी, एसटीपी लगायत दातृ संस्थाको सहयोगमा निर्मित सूचना केन्द्र लुम्बिनी होटल संघ नेपालले सञ्चालन गर्ने छ । मायादेवी मन्दिरको मुख्य प्रवेशद्वार पाँच नम्बर नजिकै सूचना केन्द्र स्थापना गरि आजैबाट सञ्चालनमा आएको लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले बताए । उनले यहाँ अंग्रेजी, हिन्दी, नेपाली र स्थानीय भाषा जानेका सूचना अधिकृत राखी सबै प्रकारका पर्यटकीय सूचनाहरु प्रदान गरिने बताए । केन्द्रको मर्मत सम्भार लगायत रेखदेखको काम भने लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्ने सम्झौंता भएको उनले बताए । लुम्बिनी आउने पर्यटकलाई पथ प्रदर्शनका साथै आधिकारिक जानकारी प्रदान गर्न सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो । यसले पर्यटकलाई थप सहजता हुने अपेक्षा गरिएको छ ।

होटल संघका बरिष्ठ सल्लाहाकार हेमबहादुर विष्टले तीन वर्षदेखि सूचना केन्द्र स्थापना गर्ने प्रयास सफल भएको बताउदै नगरपालिकाले स्थान उपलब्ध गराएपछि गत वर्षबाट सञ्चालनमा आउनुपर्नेमा केही ढिलाई भएको बताए । बिहान ७ देखि बेलुका ७ बजेसम्म सूचना केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको र सूचना अधिकृतलाई लुम्बिनी बौंद्ध विश्व विद्यालयको समन्वयमा तालिम प्रदान भएको बताए । 

लुम्बिनी बिकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले सरकारी र निजी क्षेत्रको सहकार्यमा सूचना केन्द्र सञ्चालनमा ल्याइएकाले पर्यटकलाई लाभ पुग्ने बताए । यस्ता गतिविधिको अभावमा सोचे अनुसार लुम्बिनीमा पर्यटन प्रबद्र्धन हुन नसकेकाले सरोकारवाला सचेत हुनुपर्नेमा राईले जोड दिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले हेर्न नस्कने स्थितीमा रहेको यो क्षेत्रलाई नगरपालिकाले सफा सुग्घर गरी सञ्चालनमा ल्याएको  बताइन । उनले यसको दिगो सञ्चालनका लागि संस्था मार्फत सम्झौंता गरिएकाले चुस्त व्यवस्थापन हुने विश्वास व्यक्त गरिन् ।


नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले सधैं गुनासो मात्र गरेर नपुग्ने भएकाले निजी क्षेत्रले जागरुक बनेर पर्यटन प्रवद्र्धनमा लाग्नु पर्ने बताइन् । नगरपालिका सधैं सहकार्य गर्न तयार रहेकाले रचनात्मक कार्यक्रम तयार गरेर योजना ल्याउन अनुरोध गरिन् । ‘सधैं कमजोरी मात्र नदेखाउनुस्,’ उनले भनिन्, ‘नगर बिकासका लागि हामी सकारात्मक छौं, त्यही अनुसार तपाईंहरु पनि लाग्नुस् ।’

संघका निर्वतमान अध्यक्ष गोबिन्दप्रसाद ज्ञवालीले संस्थाले तीन वर्षदेखि सूचना केन्द्र सञ्चालनमा ल्याउन गरेको दुःख बल्ल सुखमा परिणत भएको बताए । सूचना केन्द्र सञ्चालनका लागि सहयोग गर्ने दाता र सरोकारवालालाई धन्यवाद दिए । सूचना केन्द्रको उद्घाटनमा बोल्दैं भिक्षु सागर धम्मले लुम्बिनी जस्तो सम्पदास्थलमा बसेर पनि स्थानीय जनता गरिबीको रेखामुनी बाँचिरहनु दुःखको कुरा भएको बताए । यहाँका बासिन्दाको आर्थिक अवस्था उकास्न लुम्बिनी बिकास कोष र नगरपालिकाले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

पर्यटन सुचना केन्द्रले बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध परिपथका धार्मिक एवम् पर्यटकिय स्थलको बारेमा लुम्बिनी आउने आन्तरिक एवम् बाह्य पर्यटकलाई जनाकारी दिने, पर्यटन पवद्र्धन र विकासमा सहयोग पुग्ने अपेक्षा छ । लुम्बिनी बुद्ध परिपथ भ्रमण गर्न उत्प्रेणा प्रदान गरि पर्यटकको बसाई लम्ब्याउने भूािमका समेत खेल्नेछ ।  केन्द्रको उद्घाटन लुम्बिनी सास्कृतिक नगरपालिकाका कार्यबाहक नगर प्रमुख कल्पना हरिजन गरेकी हुन । अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सचालन लुम्बिनी होटल सघ नेपालका महासचिव टिका कट्टेलले गरेकी थिइन  । 


प्रतिक्रिया