राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा झण्डै दुई तिहाइ सिट जितेर सरकार गठनतर्फ अघि बढेपछि अब सबैभन्दा चासोको विषय बनेको छ क्याबिनेट । पार्टीभित्र र बाहिर दुवैतिर अहिले यही छलफल चलिरहेको छ। अर्थ कसले सम्हाल्छ, गृहको जिम्मा कसले पाउँछ, युवा र विज्ञले कति ठाउँ पाउँछन ।
रास्वपा नेतृत्व निकट स्रोतहरूका अनुसार भावी प्रधानमन्त्रीका रूपमा हेरिएका वरिष्ठ नेता बालेन शाह यतिबेला क्याबिनेट संरचना, मन्त्रालयको पुनर्संरचना र डेलिभरी दिन सक्ने टिम निर्माणमै केन्द्रित छन्।
खासमा बालेनको चाहना पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधाननमन्त्री बन्ने हो। जसमा उनका आकांक्षा संसद बाहिरका स्वतन्त्र विज्ञहरू संलग्न मन्त्रीपरिषद बनाएर परिणाम निकाल्ने गरी काम गर्ने हो। रास्वपाले आफ्नो चुनावी वाचा–पत्रमा यही कुरा उल्लेख गरेको छ।
तर अहिलेको संविधान अनुसार संसद भित्रैबाट सरकार गठन गर्नु पर्ने हुन्छ। तैपनि रास्वपालाई दुईतिहाइ जनमत प्राप्त भएको अवस्थामा प्रधानमन्त्रीमा नियुक्त हुनुअघि बालेनले कतै संसदबाहिरबाट विज्ञहरू राखेर सरकार गठन गर्न सकिन्छ कि भनेर छलफल चलाए। तर, संविधानअनुसार गैरसांसद मन्त्री ६ महिनाभन्दा बढी पदमा रहन नपाउने भएकाले यो विकल्प तत्काल व्यावहारिक देखिँदैन।
नयाँ सरकार निर्माणबारे परामर्शमा रवि–बालेन, चैत ५ सम्म संसदीय दलको नेता चयन हुदैछ । पार्टीभित्रका अधिकांश नेता र सांसदहरूले अहिले त्यसो गर्नु संवैधानिक रुपमा जटिल हुने सुझाव दिएपछि अब उनी सांसदहरूलाई नै राखेर आफ्नो मन्त्रीपरिषद गठन गर्ने गृहकार्यमा जुटेका छन्।
तर बालेनले आफ्नो टिममा सकेसम्म विषय विज्ञ सांसदहरूलाई आफ्नै छनोटमा सम्बन्धित मन्त्रालयको जिम्मा दिन खोजेको निकट नेताहरू बताउँछन्।
पार्टी सभापति रवि लामिछानेसँगको एक महत्वपूर्ण छलफलमा बालेनले स्पष्ट रुपमा मन्त्रीहरू आफूले छनोट गर्ने संकेत गरेका छन्। बालेन निकट नेताहरूका अनुसार उनले रविलाई भनेका छन्– ‘तपाईं पार्टी चलाउनुस्। संसदमा सभामुख, प्रमुख सचेतक र पार्टीको संगठनात्मक जिम्मेवारी तपाईंले तय गर्नुस्। तर, जनताले ठूलो अपेक्षा गरेको सरकारको क्याबिनेट बनाउन मलाई स्वतन्त्रता दिनुस्। डेलिभरी दिन सक्ने टिम बनाउनुपर्छ।’
पार्टीभित्र रवि र बालेन निकट नेताहरूका अनुसार लामिछाने पनि यसमा सहमत भएको संकेत देखिन्छ। त्यसपछि अब प्रश्न उठेको छ— बालेन टिममा कसले कस्तो जिम्मेवारी पाउँछ
अर्थ मन्त्रालयका लागि सबैभन्दा बढी चर्चामा रहेको नाम हो— डा स्वर्णिम वाग्ले। गत पुस २१ गते पार्टी समायोजन सभालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले उपसभापति वाग्लेलाई सार्वजनिक रूपमै यसको संकेत गरेका थिए।
लामिछानेको उक्त अभिव्यक्तिलाई धेरैले रास्वपा सरकार बनेपछि वाग्ले अर्थमन्त्री बन्ने संकेतका रूपमा व्याख्या गरेका थिए।
यद्यपि, पार्टी सभापतिले सार्वजनिक रूपमा संकेत गरिसकेको नामलाई बेवास्ता गर्दा सरकार गठनको सुरुवातमै नेतृत्वबीच टकराव रहेका गलत सन्देश जान सक्ने विश्लेषण पनि भइरहेको छ। त्यसैले अन्ततः बालेन वाग्लेको नामतर्फ लचक हुने सम्भावना बलियो देखिएको बुझिन्छ।
सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालयमध्ये एक गृह मन्त्रालय कसले पाउँछ भन्ने विषयमा पनि पार्टीभित्र व्यापक छलफल चलिरहेको छ।
पार्टी सभापति लामिछानेले दुई पटक सम्हालिसकेको यो मन्त्रालय आफू सरकारमा नगएको अवस्थामा उनले डोलप्रसाद डीपी अर्याललाई दिन चाहेको बुझिन्छ।
अर्यालले यसअघि श्रम मन्त्रालय सम्हालिसकेका छन्। तर, श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा उनको अनुभव उपयोगी हुने भन्दै बालेनले उनलाई फेरि श्रम मन्त्रालयमै राख्न चाहेको चर्चा पनि छ।
यसैबीच अर्को नाम चर्चामा आएको छ— सुनिल लम्साल।
काठमाडौँ महानगरमा बालेनसँग नजिक रहेर काम गरेका लम्साललाई उनले रास्वपामा प्रवेश गर्दा महामन्त्रीको रूपमा प्रस्ताव गरेका थिए। नेताहरूका अनुसार गृह मन्त्रालय आफ्नै विश्वासपात्रलाई दिन पाए सरकार सञ्चालन सहज हुने बालेनको बुझाइ छ।
यदि गृह अर्यालले नै पाउने अवस्था आयो भने लम्साललाई भौतिक पूर्वाधार मन्त्रालय दिनेगरी छलफल भइरहेको छ। ३५ वर्षीय लम्साल पूर्वाधार र सहरी योजनामा काम गरेका युवा इन्जिनियर हुन्। उनले लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र भारतको नीति मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।
रास्वपाले आफ्नो चुनावी घोषणापत्रमै संघीय मन्त्रालयको संख्या १८ मा झार्ने प्रतिबद्धता जनाएको थियो। हाल प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालय रहेको संरचना घटाउँदा कुन मन्त्रालय मर्ज गर्नेरु कुन मन्त्रालय कसरी चलाउनेरु यी प्रश्नले बालेनलाई थप जटिल निर्णयतर्फ धकेलेको छ। अहिले १५ जना मन्त्री मात्रै नियक्त हुने नेताहरूले बताइरहेका छन्।
नेताहरूका अनुसार मन्त्री छनोटमा उनले दुई कुरालाई प्राथमिकता दिएका छन्। पहिलो, विज्ञता र कार्यक्षमता। दोस्रो, काम गर्दा तालमेल मिल्ने टिम स्पिरिट।
रास्वपाको विदेश विभाग प्रमुख शिशिर खनाललाई परराष्ट्र मन्त्रालय दिने विषयमा पार्टीभित्र करिब सहमति बनेको बताइन्छ। बालेन–रवि समन्वयमा खनालले खेलेको भूमिकाका कारण पनि उनलाई यो जिम्मेवारी दिनुपर्ने मत बलियो रहेको नेताहरू बताउँछन्।
काठमाडौँ–५ बाट एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र राप्रपाका कमल थापालाई हराउँदै संसद् पुगेका सस्मित पोखरेललाई पनि मन्त्रीका बलिया दाबेदारका रूपमा हेरिएको छ।
शिक्षा वा कानुनतिर उनको पृष्ठभूमि भए पनि बालेनले उनलाई सूचना तथा सञ्चार मन्त्रालयसहित सरकारका प्रवक्ताको जिम्मेवारी दिन सक्ने चर्चा छ।
बालेननिकट एक नेताका अनुसार मिडियासँग स्पष्ट, परिपक्व र कूटनीतिक ढंगले संवाद गर्न सक्ने क्षमता भएकाले सस्मितलाई प्रवक्ता बनाउने विकल्पमा छलफल भइरहेको हो।
त्यसो त सञ्चार मन्त्रालयमा धनुषा ३ बाट निर्वाचित रास्वपाका प्रवक्ता मनिष झाको चर्चा पनि छँदैछ।
स्वास्थ्य मन्त्रालयका लागि डा लेखजंग थापा र तोसिमा कार्कीको नाम चर्चामा छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि भने इन्दिरा राना मगर उपयुक्त हुने धारणा पार्टीभित्र देखिएको बुझिन्छ। झापा–२ बाट पूर्वसभामुख देवराज घिमिरेलाई हराएर निर्वाचित भएकी राना लामो समयदेखि महिला तथा बालअधिकार क्षेत्रमा सक्रिय छिन्।
चितवन–३ बाट निर्वाचित भएकी सोविता गौतमले कानुन मन्त्रालयको जिम्मेवारी पाउने नेताहरू बताउँछन्।
युवा आन्दोलनबाट आएका सुदन गुरुङले गृह मन्त्रालयमै दाबी गरेको चर्चा भए पनि अन्ततः उनलाई युवा तथा खेलकुद मन्त्रालय दिने विकल्पमा छलफल भइरहेको नेताहरूको भनाइ छ।
यसअघि युवा तथा खेलकुद सम्हालेका विराजभक्त श्रेष्ठलाई भने यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ सार्ने सम्भावना देखिएको छ।
काठमाडौँ महानगरमा बालेनसँग काम गरेका केही यतिखेर सांसद निर्वाचित भएका छन्। बालेनले क्याबिनेट बनाउँदा उनीहरूलाई प्राथमिकतामा राख्ने बुझिएको छ।
मेयरका आईटी सल्लाहकार सुदीप ढकाल समानुपातिक सूचीमा छन्। समानुपातिकबाट सांसद बन्ने करिब पक्का देखिएका उनलाई सामान्य प्रशासन वा अर्को कुनै मन्त्रालयको जिम्मेवारी दिने चर्चा छ।
‘महानगरमा सँगै काम गरेका विज्ञलाई क्याबिनेटमा ल्याउँदा सजिलो पनि हुन्छ, क्षमताबारे जानकारी पनि हुन्छ,’ बालेननिकट एक नेताले भने, ‘डेलिभरी दिन सक्ने टिम बनाउन यही अनुभव उपयोगी हुन्छ भन्ने बालेनजीको बुझाई छ।’
मधेस क्षेत्रबाट पनि मन्त्री पदका लागि केही नेताहरू सक्रिय देखिएका छन्। कांग्रेसका प्रधानमन्त्री उम्मेदवार गगन थापालाई चुनावमा हराएका अमरेश सिंह मन्त्रीका आकांंक्षी हुन्।
‘एउटा प्रधानमन्त्रीको उम्मेदवार अर्को प्रधानमन्त्रीको उम्मेदवारलाई हराएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ भने मैले पनि बलियो प्रधानमन्त्रीको उम्मेदवारलाई हराएको हुँ। त्यसकारण कम्तीमा मन्त्रीको जिम्मेवारी डिजर्भ गर्छु,’ पार्टीभित्र अमरेशको तर्क छ।
मधेसबाट मनिष झा, पुरुषोत्तम यादव र बब्लु गुप्ताको नाम आकांक्षीका रूपमा चर्चामा रहेको बताइन्छ। बालेनको टिममा गैरसांसद विज्ञलाई पनि मन्त्री बनाउने विकल्पबारे छलफल हुँदा कुलमान घिसिङको नाम समेत चर्चामा आएको छ।
‘कुलमान घिसिङजस्ता व्यक्तिलाई ऊर्जा मन्त्रालय दिए तत्काल डेलिभरी दिन सकिन्थ्यो कि भन्ने आशयले त्यस्तो छलफल भएको हो। तर संवैधानिक जटिलताले अहिले त्यो सम्भव देखिँदैन,’ बालेननिकट एक नेताले भने।
बालेनले कोसीबाट वैकल्पिक राजनीतिको प्रतीक बनेर उदाएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई समेत सरकारमा आउन प्रस्ताव गर्ने सम्भावना रहेको नेताहरू बताउँछन्।
यद्यपि साम्पाङले त्यसमा सहमति जनाउँछन् वा जनाउँदैनन् भन्ने स्पष्ट छैन।
‘बालेन हर्कले धरानमा गरेको कार्यसम्पादनबाट प्रभावित हुनुहुन्छ। काम गर्ने मान्छे हो भन्ने परेको छ। त्यसैले उहाँलाई प्रस्ताव गर्न सक्ने सम्भावना छ,’ बालेनको सचिवालयकै एक सदस्यले भने।
रास्वपाभित्र अहिले चर्चामा रहेका नामहरूलाई बलिया दाबेदारका रूपमा हेरिए पनि क्याबिनेट गठन अन्ततः प्रधानमन्त्रीको निर्णयमा निर्भर हुने भएकाले अन्तिम क्षणसम्म परिवर्तन सम्भव छ। त्यसैले शपथ नलिइञ्जेल को मन्त्री बन्छ, कसले कुन मन्त्रालय सम्हाल्छ भन्ने सुनिश्चित गर्न नसकिने रास्वपा नेताहरूको भनाइ छ।
तर, बालेनले आफ्नो क्याबिनेटमा विज्ञता, युवा ऊर्जा र नयाँ राजनीतिक शैलीलाई समेट्ने कोसिस गरिरहेको उनीहरू बताउँछन्। Sourse: NK