' नेपालको पर्यटन प्रवर्धन गराैं, पूर्ण रूपमा सुरक्षित छ '

खबर नागरिक

भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले नेपालको भ्रमणमा आउन भारतीय पत्रकार र पत्रकारमार्फत् भारतीय नागरिकलाई आग्रह गरेको छ । नेपालको पर्यटन प्रवर्धन तथा भारतका ऐतिहासिक स्थलहरुको अध्ययनका लागि उत्तरप्रदेशको अयोध्या र बनारस पुगेको क्लबको टोलीले यस्तो आग्रह गरेको हो ।

आइतबार बनारसस्थित काशी पत्रकार संघ र वाराणसी प्रेस क्लबसँग आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रेस क्लबले पर्यटन प्रवर्धनका लागि दुवै क्षेत्रका पत्रकारहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ ।

क्लबका अध्यक्ष कमल रायमाझीले लुम्बिनी र बनारस दुवै महत्वपूर्ण स्थल भएको बताए । उनले काशी पत्रकार संघ, बनारसी प्रेस क्लबलाई नेपालको भ्रमण गर्न आग्रह गरे । अध्यक्ष रायमाझीले भारतीय पत्रकारले पनि नेपाल भ्रमण गर्न यहाँका नागरिकलाई प्रेरित गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै महाराजगञ्ज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले नेपाल र भारतबिच रोटीबेटीको सम्बन्ध रहेको बताए । उनले पछिल्लो समय दुवै देशका पत्रकारबिच राम्रो सम्बन्ध स्थापित भएको बताए । अध्यक्ष त्रिपाठीले नेपालीले भारत र भारतीयले नेपालको भ्रमण गर्दा दुई देशको पर्यटन प्रवर्धनमा टेवा पुग्ने जनाए ।

काशी पत्रकार संघका अध्यक्ष अरुण मिश्रले काशी पत्रकारको पनि तीर्थस्थल भएको बताए । उनले बनारस आर्थिक रुपमा पनि मजबुत बनेको जनाए । ‘लुम्बिनीमा भगवान गौतमबुद्धको जन्म भयो, उहाँले बोधगयामा ज्ञान प्राप्त गर्नुभयो, यसले पनि दुई देशबिच सदियौंदेखि प्रगाढ सम्बन्ध रहेको दर्शाउँछ ।’–मिश्रले भने ।

वाराणसी प्रेस क्लबका अध्यक्ष चन्दनकुमार रुपानीले नेपाली र भारतीय पत्रकार पर्यटन प्रवद्र्धनका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । नौतनवा प्रेस क्लबका अध्यक्ष आलोक जोशीले पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने बताए । काशी वरिष्ठ उपाध्यक्ष सुरेन्द्र तिवारीले दुई देशबिचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बताए ।

लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले क्लबको बारेमा जानकारी गराउँदै तेस्रोपटक न्यूज फेस्टीवल आयोजना गर्न लागिएको जनाए । क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले क्लबले आयोजना गर्न लागेको न्यूज फेस्टीवलमा सहभागी हुन काशी पत्रकार संघ र बनारसी प्रेस क्लबलाई आग्रह गरे ।

क्लबका सल्लाहकार कुलमणि ज्ञवालीले नेपाल र भारतबिच सम्बन्ध बलियो रहेको बताउँदै यसअघि क्लबले सिक्किम प्रेस क्लबसँग भगिनी सम्बन्ध बनाएको उल्लेख गरे ।

प्रतिक्रिया