भैरहवा । स्थानीय स्तरमै विवाद समाधानलाई प्राथमिकता दिँदै आएको सिद्धार्थनगर नगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्ष २०८२÷०८३ मा दर्ता भएका अधिकांश मुद्दा टुंग्याउँदै प्रभावकारी न्याय सेवा प्रवाह गरेको देखिएको छ। मेलमिलापमार्फत विवाद समाधान गर्ने अभ्यास बढ्दै जाँदा समितिको कार्यसम्पादन पनि उल्लेखनीय बनेको छ।
नगरपालिकाको न्यायिक शाखाका अनुसार चालु आर्थिक वर्षको पौष मसान्तसम्म गत वर्षबाट बाँकी रहेका र नयाँ दर्ता भएका गरी कुल १७ वटा मुद्दा समितिमा आएका थिए। तीमध्ये ११ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने ६ वटा मुद्दा अझै प्रक्रियामै रहेका छन्। समाधान भएका मुद्दामध्ये ४ वटा आपसी सहमतिबाट मिलाइएका छन् भने ७ वटा मुद्दा थप कानुनी प्रक्रियाका लागि अदालत पठाउने निर्णय गरिएको छ।
नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक उमा अधिकारीले स्थानीय तहमा न्यायिक सेवा सहज र पारदर्शी बनाउने प्रयास निरन्तर भइरहेको बताइन्। उनका अनुसार समितिमा आउने धेरैजसो विवाद अदालतसम्म पुग्नुअघि नै मेलमिलापबाट समाधान हुने गरेका छन्। उनले मेलमिलाप प्रक्रियाबाट सकारात्मक प्रतिक्रिया प्राप्त भए पनि कतिपय अवस्थामा सहमति कार्यान्वयनमा चुनौती देखिने गरेको उल्लेख गरिन्।
विगत केही वर्षको तथ्यांकले पनि न्यायिक समितिको सक्रियता देखाएको छ। आर्थिक वर्ष २०७९÷०८० देखि २०८१÷०८२ सम्म ७९ भन्दा बढी विवाद दर्ता भएकामध्ये अधिकांश मुद्दा मेलमिलाप वा कानुनी प्रक्रियाबाट समाधान भएका छन्। यस अवधिमा ४८ भन्दा बढी मुद्दामा सुनुवाइ सम्पन्न भएको र ३८ भन्दा बढीमा ठोस निर्णय गरिएको छ।
समितिमा घरजग्गा विवाद, घरेलु हिंसा, सम्बन्ध विच्छेद, छिमेकीबीच सिमाना विवाद तथा नक्सा स्वीकृतिसम्बन्धी मुद्दा बढी आउने गरेका छन्।